दूध तथा दुग्ध पदार्थकाे शुद्धतामा सजगता अपनाउन सुझाव


काठमाडौं । दूध आफैँमा पूर्ण रुपमा पौष्टिक आहार भएकोले यसको शुद्धतामा सजग हुनुपर्ने सरोकारवालाले बताएका छन् । स्वदेशी दूध तथा दुग्धजन्य पदार्थहरुको खपत अभिवृद्धि गर्ने उद्देश्यले आयोजना डेरी उद्योग संघले आयोजना गरेको डेरी फूड फेष्टिवलमा सरोकारवालाले यस्तो बताएका हुन् ।

अनमोल व्याकेट शंखमुलमा आयोजना गरिएको डेरी फूड फेष्टिवलमा दूध तथा खाद्य विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए । खाद्य तथा पोषण विज्ञ अतुल उपाध्यायले हिन्दु धर्म संस्कारले नै दूध तथा गोरसलाई शुद्ध र तागतवर्दगका रुपमा भगवानलाई समेत चढाइने हुदाँ गोरस सन्तुलित आहारका लागि अति आवश्यक तत्व भएको बताए ।

त्यसैगरि डेरी विज्ञ केपी पौडेल दूधमा भिटामिनको खानी नै भएकाले बजारमा ल्याउदा त्यसको पोषण तत्वमा विशेष ख्याल राख्नुपर्ने बताए । गोठदेखि ओठसम्म आइपुग्दा त्यसको प्रक्रिया लामो हुने भएकाले हरेक प्रक्रियामा शुद्धतालाई प्राथमिकतामा ध्यान दिनुपर्ने उनको भनाई थियो ।

त्यसैगरि डेरी उद्यमी अरनिको राजभण्डारीले दूधको शुद्धतामा किसानको दूध बजार ल्याउने उद्योगी पनि उत्तरदायी बन्नुपर्ने बताए । ”काठमाडौँमा हैजाको त्रास छ, यसमा हामी व्यवसायी अझ सचेत हुनुपर्छ,” उनले भने ।

”सरकार पनि दूधको उत्पादन बढाउन लागिपरेको छ, धानपछि दूधलाई प्राथमिकतामा राखेको छ।,” उनले भने, ”वार्षिक २४ लाख मेट्रिक टन दूध उत्पादन भएको छ। गाइको दूध उत्पादन १४ प्रतिशतले बढेको छ। सम्भावना छ हामी सचेत भएर अगाडी बढ्नुपर्छ ।”

पशु सेवा विभागका उपमहानिर्देशक जीवलाल लम्साल दूधमा धेरै खतरा छ भन्ने भ्रम रहेको बताए । ”हामीले दूध तताएर खादा खासै डराउनुपर्दैन। बजारीकरणमार्फत लैजादा भने सचेत हुनुपर्छ । दूधको चेन लामो छ। यसको सुदृढिकरणमा सबैजना लाग्नुपर्छ । दूधमा प्रशस्त सम्भावना छ,” उनले भने ।

राष्ट्रिय दुग्ध विकास बाेर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले दुग्ध मूल्य श्रंखला सुधारका लागि बाेर्डले गम्भीरतापूर्वक काम गरिरहेकाे चर्चा गर्दै सराेकारवाला सबै सजक हुनु पर्नेमा जाेड दिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सहसचिव सम्झना काफ्लेले यस्ता कार्यक्रमले आम जनतामा पूर्ण आहार हो भन्ने सन्देश फैलिन सहयोग पुग्ने बताइन्। दूधको शुद्धता गोठदेखि ओठसम्म पुग्दा एकैनासको हुनका लागि सबै सरोकारवाला लाग्नुपर्ने उनको भनाइ छ ।

नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले नेपालका मौलिक चाडपर्वका आफ्नै विशेष महत्व भएकाले राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने बताए । दूध क्षेत्रमा केही सुधारका कार्य आवश्यक भएको बताउदै सबै व्यवसायी हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताए ।