नेप्से परिसूचक घट्याे, कारोबार रकममा भने ४ अर्बको उछाल


काठमाडौं । हिजो भारी अंकले बढेको सेयरबजार आज भने ९ अंकले घटेर कारोबार बन्द भएको छ ।

सोमबार कारोबार खुलेको समयदेखि उकालो लागेर ६५ अकसम्म पुगेको नेप्से परिसूचक ९ अंकले घटेर आजको कारोबार बन्द भएको छ ।

त्यस्तै विगत केही समयदेखि कारोबार रकम १ अर्ब देखि २ अर्बको आसपासमा हुने गरेको थियो भने आज भने उछाल आएको छ । समग्र नेप्से परिसूचक घटेपनि कारोबार रकम ४ अर्ब माथि पुगेको छ । जसले गर्दा लगानीकर्ताको मनोबल उच्च बनेको सेयरबजारका जानकारहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ९.७५ अंकले घटेर २०७६.६७ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.६८ अंकले घटेर ३९६.१५ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ९ वटा उपसमुहको सेयर घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १७ करोड ५८ लाख ८३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज नेप्सेमा सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज ग्लोबल आईएमइ डिबेञ्चर २०८६/८७ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ९.७५ प्रतिशतले घटेको छ ।

कूल २३४ वटा कम्पनीको एक करोड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५ सय ९३ रूपैयाँ २१ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम ४ महिना यताकै सर्वाधिक हो ।