‘प्रतिभा डबली’ बाट छानिए अन्तिम ४ कर्मचारी


काठमाडौं । कर्मचारीको नविन सोच/इनोभेटिभ आईडिया प्रस्तुतिका लागि आयोजित ‘प्रतिभा डबली’ कार्यक्रमबाट चार कर्मचारी छानिएका छन् ।

प्रतिस्पर्धामा रहेका विभिन्न ३४ प्रतिस्पर्धीमध्ये छानिएका प्रमुख उत्कृष्ट १० मध्येबाट पहिलो, दोस्रो र तेस्रोमा दुई जना गरी चार जनालाई छनोट गरिएको हो । प्रतिस्पर्धामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नसिब आचार्य प्रथम भएका छन् भने चरीकोट नगरपालिकामा कार्यरत एमबी खड्का दोस्रो स्थान हासिल गरेका छन्।

तेस्रो स्थानमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत अरुण जीसी र ललितपुर महानगरपालिका विजेता सुवेदीले तेस्रो स्थान हासिल गरे । चारसमेत उत्कृष्ट १० मा पर्ने नवराज पराजुली, प्रमोद नेपाल, विजयकुमार रम्तेल, विश्वमङ्गल शर्मा, रामप्रसाद अवस्थी र ज्ञानकुमारी थापा छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडीया स्टुडियो नेपालको सहकार्यमा सम्पन्न कार्यक्रमबाट छानिएका चार प्रतिभाको नविनतम सोंचलाई मन्त्रालयले लगानी गरेर कार्यान्वयनमा ल्याउने भएको छ । मन्त्रालयले कार्यविधी बनाएर स्वतन्त्र समूह बनाएर काम गर्ने प्रक्रिया अगाडि बढाएको छ। प्रमुख दशमा पर्ने सबैको नवितम सोंचमा आईडीया स्टुडियोले पनि लगानी गर्नेछ ।

उत्कृष्ट मध्ये तीन जनाको नविनतम सोंच सुशासन स्थापना गर्नेमा केन्द्रीत देखिन्छ भने कृषि मन्त्रालयका प्रसार अधिकृतसमेत रहेका जीसीको आईडीया भने कृषि उपजको संरक्षण तथा उत्पादन वृद्धिसँग सम्बन्धित छ ।

“कर्मचारीको नवीन सोच अंकुरणका लागि अभिमुखीकरण लगायतका विविध कार्यक्रम सञ्चालन गरिएको हो,” छनोटमा परेका जीसीले भने, “मैले प्रस्तुत गरेको टेलिप्लान्ट डक्टरको आईडीयामा छनोटमा परेपछि उत्साहित छु, कृषि उपजलाई रोगकिराबाट जोगाउन सकिने सम्भावनालाई मूर्तरुप दिन सहयोग पुग्नेमा विश्वस्त छु।”

नेपालमा रोग किराको प्रकोपबाट बालीलाई जोगाउन सकेमा ४० प्रतिशत उत्पादन खेर हुन बाट जोगाउन सकिने जीसीको भनाई छ । पछिल्लो समयमा मानव स्वास्थ्यमा टेलिमेडिसिन सफल भइरहेको सन्दर्भमा विश्वमा सफल मानिएको टेलिप्लान्ट डक्टरको अवधारणा नेपाली माटो सुहाउँदो तरिकाले प्रयोगमा ल्याउन सकिने जीसीको दाबी छ ।

तस्बिरहरूः आइडीया स्टुडियो नेपाल