प्रधानमन्त्री देउवा र नेपाल उद्योग परिसंघबीच देशको आर्थिक अवस्थाका विषयमा छलफल


काठमाडौं । नेपाल उद्योग परिसंघ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नव प्रवर्तन उद्यम प्रोत्साहन लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो । परिसंघले मुलुकको पछिल्लो आर्थिक अवस्था र सुधार्न चालिनुपर्ने कदम, बजेटको सफल कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उल्लेख छ ।

लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न चालिनुपर्ने विषय, विदेशी विनिमय संचिती, लगानी प्रबद्र्धन गर्न तत्काल एवं दीर्घकालिन रुपमा लिइनुपर्ने नीतिका विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको परिसंघले जनाएको छ । विश्वव्यापी रुपमा देखिएको इन्धन संकट र त्यसले देशको अर्थतन्त्रमा पारेको असरका विषयमा पनि छलफल गरेको थियो ।

परिसंघका अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्थाको विषयमा जानकारी गराएका थिए । तरलता अभावका कारण नयाँ उद्योग, लगानी विस्तार हुन नसकिरहेको अवस्था एवं तरलता समस्या समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गरिनुपर्ने विषयमा उनले सुझाब दिएका छन् ।

अध्यक्ष अग्रवालले परिसंघका गतिविधि, आगामी भदौं २३ र २४ गते हुने पूर्वाधार सम्मेलन, लगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । छलफलमा प्रधानमन्त्री देउवाले परिसंघले उठाएका विषयलाई सम्बोधन गर्ने आश्वासन दिएका छन् ।