५० करोड लगानीमा बुद्ध एयरको आरजु राइस मिल स्थापना, २० हजार किसानको उत्पादन बजारीकरण गर्ने लक्ष्य


काठमाडौं । मुलुकको आन्तरिक उडानमा १४ एटिआर र दुई थान बिजक्राप्ट गरी कूल १६ जहाजमार्फत यात्रु बोक्ने बुद्ध एयरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम (सिएसआर) अन्तर्गत व्यावसायिक कृषिमा लगानी गरेको हो ।

विसं २०६९ मा नेपाल कृषि कम्पनी स्थापना गरी बुद्धले मोरङका विभिन्न स्थानीय तहमा धानखेतीको व्यावसायीकरण र यान्त्रिकीकरणमा लगानी गरिरहेको बुद्धले अब कृषकले उत्पादन गरेको धानलाई चामलमा परिणत गरी बजारमा पठाउने तयारी गरेको छ । बुद्धले मोरङको बेलबारी नगरपालिकास्थित डाङ्गीहाटमा ‘आरजु राइस मिल’ स्थापना गरेको छ । मिलमा अहिले उपकरण जडानको कार्य धमाधम चलिरहेको छ ।

कम्पनीले अत्याधुनिक उपकरणयुक्त मिल स्थापनाका लागि झण्डै रु ५० करोड लगानी गरेको छ । उक्त धानमिल आगामी कात्तिकदेखि सञ्चालन हुनेछ । बुद्धले कृषिको यान्त्रिकीकरणमा रु सात करोडभन्दा बढी खर्च गरिसकेको छ । सो भेगमा स–साना टुक्रा जमिन एकीकृत गरी ठूला मेसिनको प्रयोगबाट धान रोप्ने र काट्ने काम भइरहेको छ ।

बुद्ध एयरले आफ्नो भगिनी संस्था नेपाल कृषि कम्पनीमार्फत निश्चित क्षेत्रमा निश्चित जातको धान रोप्न कृषकलाई प्रोत्साहन गरिरहेको छ । यसरी फलेको धान आरजु राइस मिलले सिधै खरिद गर्नेछ । मिलले मोरङ र यस आसपासका जिल्लाका २० हजार कृषकले उत्पादन गरेको धान खरिद गरी त्यसलाई स्वदेशी ब्राण्डमा नेपाली बजारमा पठाउने लक्ष्य लिएको छ ।

पछिल्लो ११ महिनामा नेपालले रु २८ अर्ब ५० करोड बराबरको चामल आयात गरिसकेको आँकडा छ । आयातलाई प्रतिस्थापन गर्न र कृषिको व्यावसायीकरण गरी अर्थतन्त्रलाई सवलीकरण गर्ने लक्ष्यसहित कृषिमा यान्त्रिकीकरणको अभियान थालिएको बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतले बताए । कम्पनीले धान फलाउने कृषक र चामल खाने उपभोक्ताबीच रहेका अनेक ‘ब्रोकर’को चेन तोड्ने विश्वास लिएको छ । यो राइस मिलले पहिलो एक सिजनमा दुई हजार मेट्रिक टन र त्यसपछि वार्षिक १३ हजार मेट्रिक टन चामल उत्पादन गर्ने लक्ष्य लिएको छ ।

अहिले नेपालमा धेरै मोटो धान उत्पादन हुन्छ । किनकि मसिनो धानको बजार व्यवस्थित भएको छैन । मसिनो धानलाई मिलिङ गर्ने इक्युटमेन्टहरू पनि छैन । “मिलहरूको त्यो खालको इक्यिुपटमेन्ट छैन । त्यसले गर्दा मोटो धान उत्पादन हुन्छ, जसको चामलको मूल्य रु ४० देखि ५० हुन्छ । धानको मूल्य एकदमै थोरै हुन्छ । धानको मूल्य ठिक नहुने भएकाले हामी निर्वाहमुखी खेतीपातीबाट माथि उठ्न नै सकेका छैनौँ”, प्रबन्ध निर्देशक बस्नेतले भने ।

सबैभन्दा धेरै उत्पादन र खेती हुने पनि धान नै भएकाले त्यो भिसेफ साइकललाई कसरी ब्रेक गर्ने भन्ने एउटा हाइफोथसिस सिर्जना गर्नु अति जरुरी ठानेर कम्पनीले करिब १५ वर्षदेखि कृषि कार्यमा लागेको उनले उल्लेख गरे ।

कम्पनीले अहिले मसिनो धान पनि उत्पादन गरिहेको छ । किसानले लङ्ग्रेन ६.५ एमएमको धानबाट चामल उत्पादन गरे खरिद गरिरहेका छौँ । चैतेधानको न्यूनतम रु ७५० तोकेको छ । आरजु राइस मिलले धान भण्डारणमा पनि ठूलो लगानी गरेको छ । भण्डारण गर्ने ढवाङहरु साढे ३ हजार टनका छन् । त्यहाँ सबैभन्दा ठूलो लगानी पिकक्युलयन र डायरमा गरिएको छ । किनकि उत्पादन भएर आउनेबित्तिकै आउने धान वा मकैको नमि एकदमै धेरै हुन्छ । धानलाई १३ प्रतिशतमा झारेर भण्डारण गर्नुपर्छ र मकैलाई ३० प्रतिशतबाट १५ प्रतिशतमा झारेर भण्डारण गर्नुपर्छ । “हरेक घरले ग्यास पानी जस्तो महिनामा २० देखि ३० केजी चामल प्रयोग गर्छन् । त्यो खालको बजारीकण योजनामा जानुपर्छ । यो विशुद्ध नेपाली चामल हो । रु २० देखि २५ रिटेल मूल्य कम गरेर दिन्छौँ”, उनले भने ।

बेलबारी नगरपालिकामा १० हजार बिघाभन्दा बढी खेतीयोग्य जमिन रहेको छ । आरजु राइस मिलले पाँच हजार ५०० बिघाको उत्पादन व्यवस्थापन गर्नेछ ।

मिलमा जुन धान प्रशोधन गर्ने प्रविधि रहेको छ । त्यो प्रविधिको उच्चतम प्रविधि प्रयोग गर्दा मात्रै धेरै फाइदा हुन्छ । त्यसले अर्थतन्त्रको स्केल तय गर्छ, उत्पादन गर्दाको खर्च घटाउने बस्नेतको विश्वास छ । उनले भने, “नेपालमा अन्य राइस मिलहरुको प्रविधि कस्तो हो थाहा छैन । पहिलोपटक राइस मिल खोल्दैछु । अरुको राइस मिल हेरेको छैन । राइस मिलको दुईवटा टेक्नोलोजी हो एउटा भुलर र अर्को जापनिज टेक्नोलोजी । दुवैलाई कम्प्युटर गर्‍यौँ । भुलर तुरुन्तै आयो । भुलर स्वीज मल्टिनेशनल टेक्नोलोजी हो । यो टेक्नोलोजी फुड ग्रेन म्यानेजमेन्टमा संसारको उच्चतम टेक्नोलोजी हो । उनीहरुको धान मिलको राम्रो टेक्नोलोजी ल्याएका छौँ ।”

एक तथ्याङ्कअनुसार वार्षिक धान, चामल, गहुँ, मकै रु ८० अर्बभन्दा बढी आयात हुन्छ । त्यसमा चामलमात्रै रु ५० अर्ब हाराहारी आयात गरिँदै आएको छ । सञ्चिती मुद्रा बाहिरिँदै गएको छ । बुद्ध एयरले पूर्वी तराईका मोरङ, सुनसरी र झापा जिल्लामा यान्त्रिकीकरणका साथै हाइब्रिड बीउ भित्र्याइ धान उत्पादन दोब्बर–तेब्बर वृद्धि गर्न सफल भएको कम्पनीले जनाएको छ । किसानलाई धानखेतीप्रति प्राविधिक र व्यवहारिक सल्लाह पनि दिइरहेको छ । रासस