नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त


काठमाडौं। सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो।

नवनियुक्त अध्यक्ष थापालाई बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका छन्।

शपथपछि अर्थमन्त्री वाग्लेले बीमा क्षेत्रको विकास र विस्तारका लागि निडर तथा निर्धक्क भएर काम गर्न नवनियुक्त अध्यक्ष थापालाई निर्देशन दिएका छन्। उनले बीमा क्षेत्रको विश्वसनीयता अभिवृद्धि, नियमन तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल राष्ट्र बैंकमा झन्डै तीन दशक काम गरेको अनुभव भएका थापा वित्तीय क्षेत्रको नियमन, सुपरिवेक्षण, जोखिम व्यवस्थापन तथा संस्थागत सुशासनका जानकार हुन्। उनी यसअघि नेपाल राष्ट्र बैंकको कर्पोरेट योजना तथा जोखिम व्यवस्थापन विभागका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।

थापाले राष्ट्र बैंकमा वित्तीय संस्था सुपरिवेक्षण, बैंक सुपरिवेक्षण, नियमन तथा कर्पोरेट योजना विभागलगायतमा विभिन्न जिम्मेवारी सम्हालेका छन्। उनले राष्ट्र बैंकको गभर्नर कार्यालयमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।

बीमा क्षेत्रसँग पनि उनको अनुभव छ। उनी राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको सञ्चालक तथा लगानी समितिको संयोजकका रूपमा कार्यरत थिए। त्यसैगरी निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक तथा लगानी समितिको संयोजकको जिम्मेवारीसमेत सम्हालेका छन्।

थापाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा एमफिल गरेका छन्। उनले भारतको सिंघानिया विश्वविद्यालयबाट बैंकिङ क्षेत्रमा संस्थागत सुशासनले जोखिम व्यवस्थापनमा पार्ने प्रभावसम्बन्धी विषयमा विद्यावारिधि गरेका छन्। उक्त विद्यावारिधि उपाधि हाल त्रिभुवन विश्वविद्यालयबाट समकक्षता मूल्यांकनको प्रक्रियामा रहेको उनको व्यक्तिगत विवरणमा उल्लेख छ।

बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, जोखिम व्यवस्थापन र संस्थागत सुशासनमा लामो अनुभव हासिल गरेका थापाको नियुक्तिलाई बीमा क्षेत्रको नियामकीय नेतृत्वमा वित्तीय क्षेत्रको अनुभव उपयोग गर्ने अवसरका रूपमा हेरिएको छ।