अभियान लघुवित्तले आइपिओ जारी गर्न धितोपत्र बोर्डबाट पायो अनुमति


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गर्ने साधारण सेयरको प्रक्रिया अगाडी बढेको छ । अभियान लघुवित्तले असार २४ गते धितोपत्र बोर्डबाट आइपिओ जारी गर्न अनुमति पाएको कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले जानकारी दिए ।

“धितोपत्र बोर्डबाट असार २४ गते अप्रुभल भएको छ,” अधिकारीले भने, “तयारीमा जुटेका छौँ साउनको अन्यसम्म आइपिओ निकाल्ने योजनाका साथ काम अघि बढाएका छौँ ।”

संस्थाले सर्वसाधारणको लागि रू. १०० अंकित मूल्य दरको रू ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्दै छ । संस्थाले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेकाे छ ।

गत कात्तिकमा सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात् चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्ने प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।

काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले देशभर ६० वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।