अटो बजारमा अंकुश


सरकारको निर्णयले धेरै चारपांग्रे सवारी साधन आयातकर्ताका साथै १५० सीसीभन्दा माथिका मोटरसाइकल मात्र आयात गरी कारोबार गर्दै आइरहेका रोयल इन्फिल्ड, जावा र बीएमडब्लुसहित केटीएम, बेनेली, होन्डा, सिएफ, मोटो, टीभीएस, बजाज, यमाहालगायत अन्य ब्रान्डका मोटरसाइकल आयातसमेत प्रभावित बन्ने देखिएको छ ।

आयात कम गर्न भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७९ वैशाख १६ गते राजपत्रमा सूचना प्रकाशित गर्दै असार मसान्तसम्म विभिन्न सामग्रीको आयातमा रोक लगायो । त्यसको प्रभाव बजारमा देखिन थालेको छ । सरकारले विभिन्न १० प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।

नेपाल सरकारले निकासी तथा पैठारी ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै मदिरा, सुर्ती, डिजेल तथा पेट्रोल गाडी, २५० सीसीभन्दा बढीका मोटरसाइकल, कुरकरे तथा लेजलगायतका खाद्यान्न, हीरा, ६ सय डलरभन्दा महँगा मोबाइल सेटलगायतको आयातमा प्रतिबन्ध लगाएको छ । त्यस्तै सबै प्रकारका खेलौना, खेल्ने तास, ३२ इन्चभन्दा ठूला रंगीन टेलिभिजनलगायतका सामग्री पनि सरकारको आयात प्रतिबन्धको सूचीमा परेका छन् । सरकारले लगाएको आयात प्रतिबन्ध चालू आर्थिक वर्षको असार मसान्तसम्म लागू हुने राजपत्रमा उल्लेख छ ।

शृंखलाबद्ध रूपमा सरकारले आयात निरुत्साहनका काम गरिरहँदा पछिल्लोपटक आयात प्रतिबन्धको निर्णय गरेको हो । यसअघि नेपाल राष्ट्र बैंकले विभिन्न विलासी वस्तुको आयातका लागि एलसी नखोल्न बैंकहरूलाई मौखिक निर्देशन दिएको थियो । त्यसअघि विभिन्न ४७ प्रकारका हार्मोनाइजेसन कोडअन्तर्गतका वस्तुको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने नियम लगाएको थियो । विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै विलासी वस्तुसहित गाडी आयातमा सरकारले प्रतिबन्ध लगाएको छ । सरकारको उक्त निर्णयले धेरै चारपांग्रे सवारी साधन आयातकर्ताका साथै २५० सीसीभन्दा माथिका मोटरसाइकल मात्र आयात गरी कारोबार गर्दै आइरहेका रोयल इन्फिल्ड, जावा र बीएमडब्लुसहित केटीएम, बेनेली, होन्डा, सिएफ, मोटो, टीभीएस, बजाज, यमाहालगायत अन्य ब्रान्डका मोटरसाइकल आयातसमेत प्रभावित बन्ने देखिएको छ ।

कुन–कुन गाडीको आयातमा प्रतिबन्ध ?

सरकारले प्रकाशित गरेको सूचनाअनुसार २५० सीसीभन्दा माथिका बाइक र १६ वटा एचएसकोडका गाडी आयातमा रोक लगाएको छ । ती १६ मध्ये १३ वटा एचएस कोडमा चैतसम्म गाडी आयात भएका छन् । आयातमा रोक लगाएको गाडीहरूमध्ये एचएस कोड ८७०३२१९९ का हजार सीसीभन्दा कमका गाडी आयात बन्द गरेको छ । चैतसम्म नेपालमा तीन हजार नौवटा गाडी भित्रिसकेका छन् । त्यसैगरी ८७०३२२९० पेट्रोल इन्जिनका हजारदेखि १५०० सीसीसम्मका सबै गाडीको आयात बन्द गरिएको छ । उक्त समूहमा चैत महिनासम्म ७ हजार ६२२ वटा गाडी आयात भएका छन् । एचएस कोड ८७०३२३१९ भित्र पेट्रोल इन्जिनका १५ सय सीसीदेखि दुई हजार सीसीसम्मका गाडी पर्छन् । यसअन्तर्गत १९० वटा गाडी आयात भएका छन् । 

यस्तै, ८७३२३२९ एचएस कोडमा १५ सयदेखि तीन हजार सीसीसम्ममा गाडीको आयातमा रोक लगाएको छ । यसमा २२ वटा गाडीे आयात भएका छन् ।

यी मोटरसाइकललाई असर

२५० सीसीभन्दा माथिका मोटरसाइकल आयात गर्न नपाइने भएपछि नेपालमै यस्ता बाइक बिक्री गरिरहेका कम्पनीलाई केही असर पर्नेछ । यद्यपि, हायर सेगमेन्टका बाइकको बिक्री कमै हुने भएकाले त्यस्तो धेरै असर भने नपर्न सक्छ । 

सबैभन्दा धेरै असर रोयल इन्फिल्डलाई पर्न सक्छ । ३५० सीसी माथिको मोटरसाइकल मात्र उत्पादन गर्दै आइरहेको रोयल इन्फिल्डसँग हाल नेपाली बजारमा बुलेट इलेक्ट्रा, क्लासिक र मेटियोर गरी कुल तीनवटा मोडलका ३५० सीसी क्षमतामा उपलब्ध छन् भने हिमालयन ४११ र इन्टरसेप्टर ६५० सीसी क्षमता उपलब्ध रहँदै आएका छन् । 

त्यसैगरी, बीएमडब्लुले बिक्री गर्दै आइरहेको जी ३१० आर र जी ३१० जीएसमा ३१३ सीसी क्षमताको इन्जिन जडान गरिएको छ । 

यस्तै, जावाको क्लासिक र फोर्टी टु २९३ सीसी क्षमताका मोटरसाइकल हुन भने पेरकमा ३३४ सीसी क्षमताको इन्जिन जडान गरिएको छ । बिग विङमार्फत उच्च सीसी क्षमताका मोटसाइकलको बिक्री गर्दै आइरहेको होन्डाको सीआरएफ ३०० एल, ३०० एल ¥याली, हाइनेस सीबी ३५०, सीबी ३५० आरएस र सीबीआर ६०० आरआरको आयात रोकिने भएको छ । 

यसैगरी, बजाजको डोमिनार ४००, यामाहाको आर३ र टीभीएस अपाचे आरआर ३१० को समेत आयात रोकिएको छ । यो नयाँ नियमले केटीएमको ड्युक ३९०, आरसी ३९०, एड्भेन्चर ३९० र ड्युक ७९० को आयात रोकिने छ भने बेनेलीको टीएनटी ३०२ एस, टीएनटी ६०० आई र टीएनटी ७५२ एसको आयात रोकिने छ भने सीएफ मोटोको ४०० एनके, ६५० एनके, ६५० एमटी, ४०० जीटी र रेसर ५५० ईएक्सको समेत आयात रोकिने देखिएको छ ।

विद्युतीय र २५० सीसीसम्मका दुई पांग्रेका आयात खुल्ला*

सरकारले विद्युतीय सवारी र २५० सीसीसम्मका बाइक तथा स्कुटरको आयात भने खुल्ला नै राखेको छ । चैतसम्म २५० सीसीसम्मका दुई लाख १९ हजार मोटरसाइकल नेपाल भित्रिएका छन् ।  

नेपालमा ८७११३०९० एचएस कोडमा २५० देखि ४०० सीसीसम्मका मोटरसाइकल भित्रिँदै आएका छन् । चैतसम्म ६ हजार ३१३ वटा यस्ता मोटरसाइकल नेपाल भित्रिएको सरकारी तथ्यांकमा उल्लेख छ । अब भने सो कोडमा आउने मोटरसाइकलमाथि चालू आर्थिक वर्षसम्मका लागि प्रतिबन्ध लागेको छ । 

यसबाहेक ८७१११४०० एचएस कोडमा ५०० सीसीदेखि ८०० सीसीसम्मका मोटरसाइकल पर्छन् । चैतसम्म यस्ता मोटरसाइकल ४ वटामात्रै भित्रिएका थिए । यी मोटरसाइकलमा पनि प्रतिबन्ध लागेको छ । त्यस्तै ८७१११५०० एचएस कोडमा ८०० सीसीमाथिका मोटरसाइकल पर्छन् । चैतसम्म यस्तो एउटामात्रै मोटरसाइकल नेपाल भित्रिएको छ ।

रोकिएका छैनन् इलेक्ट्रिक साधन

सरकारी नीतिअनुसार इलेक्ट्रिक गाडीको आयात भने रोकिएको छैन । अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष धुव्र थापाले कुनै प्रकारको विद्युतीय सवारी साधन आयातमा रोक नलगाएको र बजारमा अहिले इलेक्ट्रिक साधनको माग उच्च रहँदै आएको बताए । 

यद्यपि, इलेक्ट्रिक कारको माग उच्च रहँदै आए पनि आपूर्तिमा देखिएको समस्याका कारण अधिकांश ब्रान्डले अझैसम्म अभावको अवस्था झेल्नु परिरहेको छ । विद्युतीय सवारी साधनमध्ये बजारमा अहिले  टाटा, एमजी, किया र हुन्डाई ब्रान्डका इलेक्ट्रिक कारको माग उच्च छ, जसमध्ये कुनै पनि ब्रान्डले ग्राहकको मागलाई पूरा गर्न सकिरहेका छैनन् ।

नेपालमा यदि आपूर्तिको अवस्था सहज हुने हो भने नेपालमा यो आर्थिक वर्ष दुई हजार हाराहारी इलेक्ट्रिक कार बिक्री हुने विभिन्न अध्ययन र आधारले देखाउँदै आइरहेकोमा इन्जिनयुक्त गाडीको आयात रोकिँदा यो संख्या अझै बढेर जाने देखिन्छ । विश्वव्यापी सेमी कन्डक्टरको अभाव र इलेक्ट्रिक मोटर तथा ब्याट्रीको उत्पादन बढ्न नसकेको कारण यस्ता कार उत्पादन गर्न कम्पनीले आफ्नो क्षमता बढाउन सकिरहेका छैनन् जसका कारण नेपाली आयाकर्ताले माग गरेअनुसार उनीहरूले गाडी पठाउन सक्ने अवस्था देखिएको छैन । बजारमा इलेक्ट्रिक कार मागअनुसार आपूर्ति हुन नसक्ने निचोड निकालेर नै सरकारले यो गाडीको आयातमा रोक नलगाएको हुन सक्ने अनुमान गरिएको छ ।

२५० सीसी माथिका बाइकको आयात नै कम

सरकाले प्रतिबन्ध लगाएको २५० सीसी बाइकको आयात गत वर्षमा पनि निकै कम रहेको तंथ्याकले देखाउँछ । नाडाको टु ह्विलर कमिटीका सभापति अभिक ज्योतिका अनुसार गत वर्ष मासिक ३० हजार बाइक बिक्री हुन्थे भने अहिले २० हजारदेखि २२ हजार वटासम्म बिक्री हुने गरेका छन् । 

उनका अनुसार कोभिड महामारीपछि निजी साधनको आवश्यकता धेरैलाई भयो, त्यसकारण प्रतिबन्ध कम भएसँगै बजारमा दुई पांग्रे किन्नेको संख्या बढेको थियो । अहिले अवस्था सामान्य भएसँगै निजी सवारीको माग कम भएको छ।

नेपाली सडकअनुसार अहिले १५० सीसीका बाइकहरू उपयुक्त रहेको माग पनि उच्च रहेको ज्योतिको भनाइ छ । २५० सीसीका बाइकहरू महँगो भएको, माग र आयात निकै कम भएकाले यसलाई सरकारले प्रतिबन्ध लगाएको हुनसक्ने उनी बताउँछन् । 

एउटा हायर सीसीको मोटरसाइकल किन्दा बाइकको मूल्यअनुसार सरकारलाई राजस्व पनि करिब ५० प्रतिशत नै बुझाउनुपर्छ । त्यसैले सरकारले हायर सेगमेन्टका बाइकको आयातमा प्रतिबन्ध लगाउँदा आउने राजस्वसमेत गुमेको ज्योति बताउँछन् । उनका अनुसार २५० सीसीका बाइकहरू प्रायःजसो पहाडी क्षेत्रमा धेरै प्रयोग हुने देखिन्छ । ज्योति भन्छन्, “यस्ता बाइक प्रायः टुरिजम बाइक भनेर चिनिन्छन् । पर्यटकहरूले पहाड चढ्दा यस्ता बाइक प्रयोग गर्ने गर्छन् । त्यसैकारण यसमा प्रतिबन्ध लगाउँदा पर्यटकबाट उठ्ने रकम पनि आउन बन्द हुने र त्यसकारण यसले अर्थतन्त्रमा नराम्रो असर पार्ने देखिन्छ ।”

अर्थतन्त्रमा घाटा

नाडाका अध्यक्ष धुव्र थापा नेपालमा गत वर्षमा करिब ७० अबको जति गाडीको आयात भएकोे बताउँछन् । सरकारको गत पुसमा ५० प्रतिशत मार्जिन राख्ने कुराले गाडीको आयातमा कम भएको थापाको भनाइ छ । 

उनी भन्छन्, “हाम्रो अर्थतन्त्र आयातबाट चल्ने अर्थतन्त्र हो । त्यसैले आयातमा प्रतिबन्ध लगाउँदा राजस्वमा सिधै असर पर्ने गरेको छ ।”

एक महिना जतिका लागि चैतमा भित्रिएका गाडीको स्टक रहेका साना साना कम्पनीलाई असर नपरेको उनको भनाइ छ । तर ठूला कम्पनीलाई घाटा भएको र आयात बन्द गर्नाले विदेशी कम्पनीसँगको विश्वास हराउँदै गएको भन्दै सकेसम्म सरकारले यसलाई छिटो खोल्नुपर्ने उनको माग छ ।

पर्ख र हेरको अवस्था

असार मसान्तसम्मका लागि मात्र सो आयात प्रतिबन्ध तोकिएको र त्यसपछि खुल्ला गरिएमा अर्थतन्त्र सकारात्मक दिशातिर गएमा यसलाई सकारात्मक मान्न सकिने समेत धेरै व्यवसायीको तर्क छ । उनीहरू त्यो अवधिसम्म ‘पर्ख र हेर’ को अवस्थामा छन् । 

नाडाका महासचिव सुरेश उप्रेतीले २५० सीसीभन्दा माथिका मोटरसाइकल र सबै चारपांग्रे निजी सवारी साधनलाई प्रतिबन्ध लगाएर अन्य सबैलाई प्रतिबन्ध फुकुवा गरिएको र असार मसान्तको समय सीमा तोकिएकाले सरकारको यो नीतिको स्पष्टतालाई व्यवसायीले स्वागत गर्ने बताए । पहिले समय पनि नतोकिएको र लिखित निर्देशन नभएकामा अब भने अन्योल हटेको र जटिल परिस्थितिको यो निर्णयलाई व्यवसायीले समर्थन गर्ने उनले बताए । यसले गर्दा व्यवसायीहरू भविष्यमा सरकारले उपयुक्त र व्यवसायमैत्री निर्णय गर्ने कुरामा आशावादी बनेर बसिरहेका छन् ।

(टक्सार म्यागजिन, जेठ २०७९, पृष्ठ ६६–६८) 

* अपडेटः  (२०७९ साउन १ गते)

सरकारले आयात प्रतिबन्धकाे व्यवस्था निरन्तरता दिँदै २०७९ भदाै १४ गतेसम्मका लागि निरन्तरता दिएकाे छ । यसअघिकाे व्यवस्थामा थप कडाइ गर्दै १५० सीसीभन्दा माथिका मोटरसाइकलसमेत आयात गर्न नपाइने व्यवस्था गरेकाे छ ।