११ महिनामा २८ अर्ब बढिको धितोपत्र निष्काशनको लागि अनुमति प्रदान


काठमाडौं । पछिल्लो ११ महिनामा २८ अर्ब बढीको धितोपत्र निष्काशनको लागि अनुमति प्रदान गरिएको छ ।

शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महा प्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा डिबेन्चर, म्यूचुअल फण्ड, साधारण सेयर, हकप्रद सेयर गरी कुल २८ अर्ब १५ करोड रुपैयाँको धितोपत्र निष्काशन भएको बताए ।

आर्थिक वर्ष २०७८÷७९ को एघार महिनामा नेपाल धितोपत्र बोर्डले रु.११ अर्ब २८ करोड बराबरको डिबेन्चर, रु.६ अर्ब ९० करोड बराबरको म्युचुअल फण्ड, रु.६ अर्ब ५१ करोड बराबरको साधारण सेयर र रु.३ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा ७ वाणिज्य बैंकहरुले रु.१० अर्ब ८८ करोडको र १ विकास बैंकले रु.४० करोडको गरी कुल रु.११ अर्ब २८ करोडको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका छन् ।

२०७९ जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्रमार्फत रु.१२३ अर्ब ७६ करोड वित्तीय साधन परिचालन भएको गर्भनर अधिकारीले बताए ।