अस्ताउँदै पूर्वको ‘हङकङ बजार’


भारतले चीनसँगको नाका सञ्चालन नगरेका कारण पनि भारतीयहरूको विदेशी वस्तुको किनमेल गर्ने थलो नै धुलाबारी बनेको थियो । धुलाबारीमा भारतको आसाम, सिक्किम, दार्जीलिङ, मिरिक, खर्साङलगायतका विभिन्न क्षेत्रबाट किनमेल गर्न आउनेहरूको संख्या अत्यधिक रहन्थ्यो । 

पूर्वी नेपालको प्रवेश द्वारका रूपमा रहेको मेचीनगर नगरपालिका वडा नम्बर १० मा अवस्थित धुलाबारी बजार आजभन्दा १७/१८ वर्ष अगाडिसम्म देशकै प्रख्यात सहरका रूपमा चिनिन्थ्यो भन्दा अहिलेको नयाँ पुस्तालाई अचम्म लाग्नसक्छ । झण्डै ३ दशकसम्म पूर्वी नेपालको ‘हङकङ मार्केटरू भनेर चिनिने धुलाबारी बजारको ब्यापार निरन्तर चम्किरह्यो । यो बजारमा विशेषगरी भारतीय सिनेमा क्षेत्रका प्रख्यात कलाकारदेखि राजनीतिक दलका ठूला नेता र व्यापारिक घरानाका व्यक्तिहरूको किनमेल र चहलपहल ठूलो हुने गर्थ्याे भने तत्कालीन राजपरिवारको पनि किनमेल हुने गरेको पुराना व्यापारीहरू बताउँछन् । 

२०६२/०६३ को आन्दोलनसँगै आएको परिवर्तनले अन्य ठाउँहरूलाई चम्काउँदै लग्यो भने धुलाबारी बजार क्रमशः विस्थापित हुँदै गयो । त्यो बेलाको चर्चित हङकङ बजार आज अव्यवस्थित र सुनसान बन्दै गइरहेको छ । बजार छिर्ने साँघुरो सडक ठाउँ–ठाउँमा भत्किएर कुरूप भएको छ भने कुनै बेलाका ‘व्यापारिक महलहरू’ जीर्ण बन्दै गइरहेका छन् ।

२०२० सालतिर भारतीयहरूका लागि ‘फरेन गुड्स’ बजारका रूपमा परिचित भएको भद्रपुर नगरपालिकामा परिणत भएसँगै थुप्रै बेथितिका कारण धुलाबारीतिर स¥यो । “अत्यधिक बढेको कर, महँगी र असुरक्षा, प्रशासन कार्यालयको आडमा उच्च ओहदाका सरकारी कर्मचारीले जथाभावी रूपमा सामान बटुल्ने र व्यापारीहरूसँग पैसा माग्ने, करको नाममा पैसा असुल्ने जस्ता ठगी प्रवृत्तिका कारण पीडित बन्न पुगेका व्यापारीहरू क्रमशः धुलाबारी आउन थाले,” मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका पुराना व्यापारी पन्नालाल जैनले भने ।

उनका अनुसार २०२८/०३० सालबाट चम्किएको धुलाबारी बजारबाट तत्कालीन सरकारले भारतीय रूपैयाँ नेपाल भित्र्याउने नीति अनुरूप चीन, जापान, कोरियालगायतका देशहरूबाट सामान आयात गरी जुनसुकै तबरले भारतीय बजारमा पठाउने र भारतीय रूपैयाँ नेपाल भित्र्याउने गरिन्थ्यो । 

धुलाबारीका त्यस बेलाका चर्चित ‘आयात/निर्यात खेलाडी’ शशी खतिवडासँग अन्तर्वार्ता लिएका वरिष्ठ पत्रकार किशोर नेपाल भन्छन्, “धुलाबारीको उदय यस्तोसँग भएको थियो कि यो नेपालबाट विदेशी वस्तुको तस्करी हुने केन्द्रविन्दु नै बनेको थियो ।” खतिवडा नेपालको ‘हाजी मस्तान’ भनेर चिनिन्थे, अर्थात् त्यो बेला धुलाबारीबाट हुने तस्करीका ‘डन’ नै थिए । 

त्यतिबेला विशेषतः भारतले चीनसँगको नाका सञ्चालन नगरेका कारण पनि भारतीयहरूको विदेशी वस्तुको किनमेल गर्ने थलो नै धुलाबारी बनेको थियो । धुलाबारीमा भारतको आसाम, सिक्किम, दार्जीलिङ, मिरिक, खर्साङलगायतका विभिन्न क्षेत्रबाट किनमेल गर्न आउनेहरूको संख्या अत्यधिक रहन्थ्यो ।

पछिल्लो समय भारतले विदेशी सामानहरू आफैं आयात गर्न थालेपछि नै धुलाबारीको व्यापार घटेको पुराना व्यापारी पुनित वंशल बताउँछन् । सबैभन्दा ठूलो ग्राहकका रूपमा रहेका भारतीय व्यापारीहरू सामान खरिद गर्न नआउनु, नगरपालिकाले लिने करलाई अझ वृद्धि गर्दै लैजानु नै यहाँका व्यापारीहरू विस्थापित हुनुको कारण रहेको वंशलले बताए ।

व्यापक चल्तीको समयमा धुलाबारीको व्यापारमा मारवाडी समुदायको बाहुल्य रहेको मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जैन बताउँछन् । २०५३ सालमा मेचीनगर नगरपालिका भएपछि एक प्रतिशत कर बढेकै कारण त्यतिबेला केही खस्किएको धुलाबारी बजारको विकल्पका रूपमा गाउँपालिका रहेको बिर्तामोड बजारले स्थान ओगट्दै गयो भने स्थानीय उपभोक्ताहरू समेत घट्दै जान थाले । 

जैनका अनुसार १० वर्षे माओवादी जनयुद्धले समेत यो बजारलाई खासै असर गरेको थिएन । तर नेपालमा गणतन्त्र आइसकेपश्चात् भने यो बजारमा धेरै समस्या उत्पन्न भएका छन् । स्थानीय व्यापारीहरूका अनुसार ०६४ पछि हत्या, अपहरणसहित शान्ति सुरक्षाको चुनौती, विभिन्न राजनीतिक दलको नाममा चन्दा आतंक बढ्दै गएपछि ठूला कारोबारीहरू विस्थापित हुँदै गएका छन् । अहिले समसाँझमै यो बजार बन्द हुने गरेको छ भने विस्तारै सुनसान बन्दै गएको छ, जसका कारण यहाँका पसलहरूमा लुटपाट तथा चोरीपैठारीका घटनाहरू समेत बढ्दै गएका छन् ।

केही वर्ष पहिले धुलाबारी बजारका प्रख्यात व्यापारीसमेत रहेका आत्मराम अग्रवालको हत्याका कारण यहाँका ब्यापारीहरू आतंकित र विस्थापित हुनुपरेको जानकारहरू बताउँछन् । एकातिर व्यापारमा कमी आएको अर्कोतर्फ सुरक्षा चुनौती बढ्दै गएका कारण यहाँका अधिकांश पुराना व्यापारीहरू भारतीय बजार सिलिगुडी पलायन भएको जैनले बताए । विगतमा मुख्य बजार क्षेत्रमा मारवाडी समुदायको बाहुल्य र वर्चस्व रहे पनि अहिले भने त्यहाँको व्यापारमा स्थानीय बासिन्दासमेत सक्रिय हुन थालेका छन् ।

प्रख्यात व्यापारीहरूको पलायनका कारण भनेको व्यापार घाटा, सरकारको निर्याततर्फ ध्यान नजानु, बजार व्यवस्थापनलाई वास्ता नगर्नु, व्यापारीहरूलाई सुरक्षा दिन नसक्नु नै प्रमुख कारण रहेको यहाँका पुराना व्यापारीहरू बताउँछन्, जसका कारण चर्चित ‘हङकङ बजार’ भनेर चिनिने धुलाबारीको गौरवमय अस्तित्व अहिले मेटिँदै गएको छ ।

कुनै समय विदेशी सामानहरू भारतीय बजारमा बेच्ने धुलाबारीको हविगत अहिले ठीक उल्टो छ । व्यापारीहरूलाई अहिले चीन तथा तेस्रो मुलुकबाट सामान आयात गर्दा लाग्ने चर्काे करका कारण सामान महँगो पर्न जाने भएकै कारण अहिले सिमानाका आसपसाका नेपालीहरू सामान किन्न भारतीय बजार पानीट्यांकी तथा सिलिगुडीसम्म पुग्ने गरेका छन् ।

अर्कोतर्फ खुला सिमानाकाको फाइदा उठाउँदै तस्करहरूले भारतीय बजारबाट ठूलो मात्रामा नेपालतर्फ लाखौं मूल्यका कपडा तथा जिन्सी सामानहरू भित्र्याउने गरेका छन् जसका कारण राज्यलाई समेत नोक्सानी भए पनि यस विषयमा सरकारले पर्याप्त ध्यान नदिँदा धुलाबारीको व्यापार विस्थापित हुन पुगेको स्थानीय व्यवसायी बताउँछन् ।

भारतबाट तस्करीको माध्यमबाट नेपाल भित्रिएका कपडालगायतका सामानहरू सिधै विर्तामोड पुग्ने गरेका कारण नेपाल सरकारलाई कर बुझाएर सामान आयात गर्ने धुलाबारीका व्यापारीहरू मारमा परेको व्यापारीहरूको गुनासो छ । धुलाबारी बजारमा उपभोक्तहरूको समेत कमीका कारण कहिलेकाहीँ त बोहनीसमेत हुन छाडेको पुराना व्यापारी रामनिवाश वंशल बताउँछन् । भद्रपुर–धुलाबारी–बर्ने–इलाम सडकखण्डको विस्तार तथा विकासमा सम्बन्धित निकायले बेवास्ता गरेकै कारण पनि धुलाबारी बजार सुक्दै गएको यहाँका अधिकांश व्यापारीहरूको गुनासो छ । 

धुलाबारी बजार हुँदै वर्ने–इलाम सडक खण्डअन्तर्गतको झण्डै पाँच किलोमिटर बाटोको स्तरोन्नति तथा विकास नहुनु पनि यो बजारका व्यापारीहरूका लागि ठूलो घाटाको विषय बनेको उद्योग वाणिज्य संंघ मेचीनगरका अध्यक्ष ऋषिराज तिमिल्सिना बताउँछन् । 

यहाँ निम्तिएका विभिन्न समस्यालाई निराकरण गर्नका लागि नगर तथा प्रदेश सरकारसँग पहल भइरहेकाले धुलाबारी बजारलाई विस्थापन हुनबाट रोक्न सकिनेमा उनको विश्वास छ ।

शान्ति सुरक्षाको स्थितिलाई मजबुत र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय साथै स्थानीय प्रशासनबाट प्रभावकारी कदम चालिने आश्वासन पाइएको उनले बताए । यो बजारलाई व्यवस्थित गरी नगरक्षेत्रको आम्दानीको स्रोतका रूपमा विकास गर्ने योजना समेत रहेको तिमिल्सिनाको भनाइ छ । 

बजार पुनःस्थापित हुने आशा

केही महिना पहिले मात्रै धुलाबारीनजिकै पूर्वकै सबैभन्दा ठूलो र पहिलो फाइभ स्टार होटल मेची क्राउन क्यासिनोसहित सञ्चालनमा आइसकेको छ भने बजारकै मुखमा क्यासिनोसहितको अर्को फाइभस्टार होटल इस्ट्रन नेपाल निर्माण भइरहेको छ, जसका कारण यो क्षेत्र क्यासिनो हबको रूपमा समेत विकास हुने सम्भावना बढ्दो छ । धुलाबारी बजारको अन्दाजी १० किलोमिटर क्षेत्रमा रहेको पूर्वी नाकामा यसअघि नै दुईवटा मिनी क्यासिनो सञ्चालनमा छन्, जसका कारण यस क्षेत्रमा यतिबेला भारत तथा तेस्रो मुलुकबाट आउने पर्यटकहरू बढिरहेका छन्।

नेपालको निर्यात वस्तुका रूपमा चिनिएका अम्रिसोको कुचो र अदुवाको सबैभन्दा ठूलो गोदाम अहिले पनि धुलाबारीमा छन्, यहाँबाटै कुचो र अदुवा भारततर्फ निर्यात हुने गरेको छ । स्थानीय सरकारले अलिक चासोका साथ धुलाबारी क्षेत्रका व्यापारीहरूको माग अनुरूप इलाम–वर्ने–धुलाबारी सडक खण्डको विस्तार गरिदियो भने धुलाबारी बजारलाई पुनः पुरानो साख जगाउँदै नयाँ ढंगले विकास हुने अवस्था कायम छ ।

(टक्सार म्यागजिन, जेठ २०७८, पृष्ठ ४९ देखि ५१)