नेप्सेमा लगातार चाैथाे दिन पनि दाेहाेराे अंककाे वृद्धि, ५ अर्बको कारोबार


काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयरबजार दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक १५ अंकले बढेसँगै कारोबार रकममा पनि उछाल आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १५.४४ अंकले बढेर २१२७.४२ अंकमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि २.७० अंकले बढेर ४०५.६२ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको सेयर घटेको छ ।

आज कारोबार रकमका आधारमा अरूण काबेली पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १७ करोड ९६ लाख ८६ हजार ६ सय १२ रूपैयाँ २० पैसा बराबरको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा बिन्ध्याबासिनी हाइड्रोपावर कम्पनी लिमिटेड र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य पनि ९.८९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आज राधी विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ३.९१ प्रतिशतले घटेर ६ सय १५ रूपैयाँमा झरेको छ ।

कूल २२१ वटा कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार एक सय ५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।