शुक्रबार नेप्से १२ अंकले बढ्याे, दुई घण्टामा २ अर्ब माथि कारोबार


काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयरबजार दोहोरो अंकले बढेको छ । शुक्रबार कारोबार खुल्ने समय २ घण्टामा १२ अंकले बढ्दा कारोबार रकम पनि २ अर्ब माथि पुगेको छ ।

यसरी हेर्दा मौद्रिक नीति सार्वजनिक भएपश्चात लगानीकर्ताको मनोबल उच्च बनेको सेयरबजारका जानकारहरु बताउँछन् ।

जुन कुरा (सेयर कर्जामा ४/१२ को क्याप) ले बजार प्यानिक बनेको थियो त्यसमा राष्ट बैंक केहि लचिलो बन्दा सेयरबजार सकरात्मक बनेको उनिहरुको भनाई छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १२.९२ अंकले बढेर २१४०.३९ अंकमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि ३.९१ अंकले बढेर ४०९.५३ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको सेयर घटेको छ ।

शुक्रबार कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १२ करोड ८६ लाख ४९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन रिलायन्स लाइफ र राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ३.४८ प्रतिशतले घटेको छ ।

कूल २१६ वटा कम्पनीको ५१ लाख ११ हजार ३ सय १० कित्ता सेयर किनबेच हुँदा २ अर्ब १९ करोड १६ लाख १९ हजार ९ सय १४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।