मर्जरमा जाने कम्पनीको सेयर कारोबार १५ दिन मात्रै रोक्का हुने


काठमाडौं । मर्जरमा जाने कम्पनीहरुको कारोबार १५ दिन मात्र रोक्का हुने भएको छ । धितोपत्र बोर्डले संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिका, २०७९को प्रारम्भिक मस्यौदा जारी गर्दै बोर्डले यस्तो जानकारी दिएको हो ।

जारी बोर्डको निर्देशिकामा भनिएको छ, “धितोपत्र बजारले उपदफा (१) बमोजिम एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ ।“
तर संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको शेयर कारोबार रोक्का राख्नु नपर्ने पनि बोर्डले जानकारी दिएको छ ।

यसअघि मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएदेखि एकिकृत कारोबार सुरू नभएसम्म कारोबार रोक्का हुने प्रावधान थियो ।

लामो समय कारोबार रोक्का हुँदा लगानीकर्ताहरूको सम्पत्ति बन्धक बनेको भन्दै लगानीकर्ताहरूले बारम्बार यसको विरोध गर्दै आएका थिए ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् मर्जरमा जाने कम्पनीहरूको सेयर कारोबार रोक्का गर्ने निर्णय धितोपत्र बोर्डलाई नै जिम्मा दिएको थियो । जसअनुसार बोर्डले मर्जमा जाने कम्पनीको सेयर कारोबार १५ दिन मात्रै रोक्का गर्ने प्रावधान ल्याउन लागेको हो ।