आन्तरिक र बाह्य गरेर सरकारको तिर्न बाँकी ऋण २० खर्ब ११ अर्ब


काठमाडौं । नेपाल सरकारले गत आर्थिक वर्ष कुल ग्राहस्थ उत्पादनको ३.८ प्रतिशत आन्तरिक ऋण परिचालन गरेको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब ३१ अर्ब ३० करोड रुपैँया आन्तरिक ऋण परिचालन गरेको छ भने ४६ अर्ब ३३ करोड रुपैँया साँवा भुक्तानी गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीको वार्षिक तथ्याङ्कमा गत आर्थिक वर्ष १ खर्ब ८३ अर्ब ९७ करोड रुपैँया खुद आन्तरिक ऋण परिचालन गरेको छ ।

गत आर्थिक वर्षमा सरकारले १ खर्ब २२ अर्ब २ करोड रुपैँया बाह्य ऋण परिचालन गरेको छ । २०७९ असार मसान्तमा नेपाल सरकारको तिर्न बाँकी वाह्य ऋण १० खर्ब २७ अर्ब ३० करोड रुपैँया र आन्तरिक ऋण ९ खर्ब ८४ अर्ब २८ करोड रुपैँया रहेको छ ।

कुल तिर्न बाँकी सरकारी ऋण २० खर्ब ११ अर्ब ५८ करोड रुपैँया पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष सरकारको तिर्न बाँकी ऋण १७ खर्ब ३४ अर्ब ४७ करोड रुपैँया रहेको थियो । आर्थिक वर्ष २०७८÷७९ मा कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४१.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४०.६ प्रतिशत रहेको थियो ।