धौलागिरी लघुवित्तको आइपीओ मंगलबार बाँडफाँड हुने


काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको प्राथमिक सेयर (आइपीओ) मंगलबार बाँडफाँड हुने भएको छ ।

लघुवित्तले गत साउन २४ गतेदेखि २९ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आइपीओ यहि भदौ ७ गते मंगलबार बाँडफाँड गरिने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

धौलागिरी लघुवित्तले गत साउन २४ गतेबाट साउन २९ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता सेयर आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएको थियो ।

निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन्। यो आईपीओ ७० गुणा बढीले ओभरसब्सक्राइब्ड भएको क्यापिटलले जनाएको छ ।

यो हिसाबले धौलागिरी लघुवित्तको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । क्यापिटलका एक अधिकारीले भने ‘गोलाप्रथाबाट भाग्यमानी ३० हजार ९२९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये थप ५ जनाले एक–एक कित्ता सेयर पाउनेछन्।’