‘पशु सेवा विधेयक पारित हुनु स्वागत योग्य छ, यसको विरोध नगरौँ’


काठमाडौं । ‘पशु सेवा विधेयक २०७९’ नागरिक र चिकित्सक अध्ययन गरेका विद्यार्थीहरुको हितमा रहेको भन्दै विरोध नगर्न पाराभेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसनका अध्यक्ष राम प्रसाद मेहलाले आग्रह गरेका छन् । संघ र पशु चिकित्सकहरुले यो विधेयक नागरिक र चिकित्सक अध्ययन गरेका विद्यार्थीहरुको हितमा रहेको बताएका छन् ।

आइतबार (आज) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विधेयकमा पशु स्वास्थ्य तथा सेवाको क्षेत्रमा सेवारत भएका करिब ६० हजार भन्दा बढी जनशक्तिलाई कानुनको दायरामा ल्याउने र कृषकले गुणस्तरिय सेवा पाउने निश्चित रहेको मेहलाले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विधेयकको मस्यौदा बनाउदा सरकारवालाले जबरजस्ती गरेको र उठाएका विषयको सम्बोधन नभएको कुरा मनगढन्ते रहेको नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका उपाध्यक्ष पुष्कर नेपालले बताएका छन् ।

उनले भने, “यी सबै कुरा गलत हुन् । हामीले सबै जनाको कुरालाई मनन गरेर यस विषयको अध्ययन गरेर नै विधेयक पारित गरेको हो । नागरिकहरुलाई गुमराह गर्ने प्रयास नगरौँ । ’’

त्यस्तै नेपाल एनिमल साइन्स एशोसिएसनका महासचिव डा लोकनाथ पौडेलले पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकको प्रस्तावना नै प्रष्ट नै छैन भनेर विरोध गर्नु उचित नरहेको बताए । उनले भने,“ विधेयकले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको सेवा तथा व्यवसायलाई गुणस्तरिय, व्यवस्थित र मर्यादित ढंगले गर्न यस विधेयकले पशु चिकित्सकलाई थप उत्सहित बनाउँछ ।’’

गत साउन ३१ गते मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ पारित गरेको थियो । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ लाई पारित गरियोस् भनेर राखेको प्रस्तावलाई बहमुतले पारित गरेको हो । उक्त विधेयकलाई लिएर पशु चिकित्सक तथा विज्ञलाई विभेद गरेको भन्दै पशु चिकित्सकहरु आन्दोलित भएका थिए ।