थप ब्रोकर लाइसेन्स र नयाँ स्टक एक्सचेन्ज ल्याउने कुरा स्वागतयोग्य : लगानीकर्ता


सरकारले थप ब्रोकर लाइसेन्स वितरण गर्न र नयाँ स्टक एक्सचेन्ज संचालनमा ल्याउ बाटो खोलिदएकोमा सेयर लगानीकर्ता संघसंगठनले स्वागत गरेका छन् ।

शुक्रबार नेपाल इन्भेस्टर्स फोरमका तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले संयुक्त रुपमा जारी विज्ञप्ति जारी गर्दै सरकारले यो कदमको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

विगत लामो समयदेखि विभिन्न चरणमा लगानीकर्ताका संघसंगठन र लगानीकर्ताले उठाउँदै आएका प्रमुख मागमध्ये बैंकलगायत नयाँ ब्रोकर संख्या थप गर्ने कार्य फ्री इन्ट्री फ्री एक्जिट र नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्न बनेको ‘धितोपत्र व्यवसायी नियमावली, २०६४ (चौथो संशोधन) विधेयकलाई मन्त्रिपरिषद्बाट पारित भएकोमा तीनै संघसंगठनले आभार व्यक्त गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री, अर्थमन्त्री, मन्त्रिपरिषदमा रहेका सम्पूर्ण मन्त्री तथा यस कार्यको नेतृत्व लिएका नेपाल धितोपत्र बोर्डका अध्यक्षलगायत धितोपत्र बोर्ड परिवारलाई सम्पूर्ण लगानीकर्ताको संघसंगठन तथा लगानीकर्ताका तर्फबाट यस ऐतिहासिक निर्णय मुक्तकण्ठले प्रशंसा गर्दै हार्दिक आभार व्यक्त गर्दछौँ।’

‘पुँजीबजार सुधार र विस्तारको कार्यमा यस्ता निर्णय सदैव स्वागत योग्य रहेको छ,’ विज्ञप्तीमा भनिएको छ ‘आगामी दिनमा पुँजीबजार विकासमा बाँकी रहेका धेरै कार्यमध्ये मार्जिन ल्यान्डिङ, ब्रोकर कमिसन, डीपी शुल्क हटाउने कार्य पनि यथाशीघ्र हुने नै छ भन्ने अपेक्षा गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदा मार्फत अब ब्रोकर अनुमति प्रणाली खुला बनाउने निर्णय गरेसँगै ५० वटा ब्रोकरहरुको सिन्डिकेट तोडिने भन्दै लगानीकर्ताहरुमा खुसियाली छाएको छ ।