श्रृजनशील लघुवित्तको आइपीओ बाँडफाँड, यसरी सजिलै हेर्नुहोस् नतिजा


काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । सोमबार उक्त आइपीओ विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएको थियो । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी ३६ हजार ८ सय ५९ जना लगानीकर्ताहरूले मात्रै १० कित्ता सेयर हात पारेका छन् भने बाँकी आवेदकको हात खाली भएको छ ।

उक्त आईपिओमा १८ लाख ३८ हजार ७ सय ५१ जनाबाट १ करोड ९९ लाख ७२ हजार ६ सय ८० कित्ताको लागि आवेदन परेको थियो ।

जस मध्ये १ हजार ३ सय १५ जनाको आवेदन रद्द भएको र योग्य रहेका १८ लाख ३७ हजार ४ सय ३६ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीले भदौ १५ गतेदेखि भदौ १९ गते, आइतबारसम्म सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खु्ला गरेको थियो ।

संस्थाले प्रतिकित्ता ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्कासन गर्न लागेको सेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

यसरी सजिलै हेर्नुहोस् नतिजा
आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि सर्भरमा डाटा अपलोड गर्न केही समय लाग्ने हुनाले आइपीओको नतिजा हेर्न केही समय लाग्ने क्यापिटलले जनाएको छ ।

रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल लिमिटेडको https://www.sunrisecapital.com.np/ वेभसाइट, श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको वेभसाइट र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।