तीन वर्ष पछि धकेलियो ब्रोकर लाइसेन्स वितरण


काठमाडौं । नयाँ ब्रोकर लाइसेन्स वितरणमा चलखेल भएको पाइएको छ । धितोपत्र बोर्डले गरेको प्रस्तावमा ब्रोकर हावी भएर मन्त्रीपरिषद्बाट नियमावली संसोधन गरिएको सेयरबजारका जानकारहरु बताउँछन् ।

धितोपत्रबोर्डले नयाँ ब्रोकर लाइसेन्सको लागि आवेदन ३ वर्ष पछि मात्रै माग गर्ने भएको छ । तर, धितोपत्र बोर्डले मंगलबार (आज) मन्त्रिपरिषदले पारित गरेर पठाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी ) (चौथो संशोधन) नियमावली, २०७९ सार्वजनिक गरेको छ ।

उक्त संसोधीत नियमावलीमा भने नियमावली प्रारम्भ भएको ३ वर्षपछि मात्रै बजारको आवश्यकता अनुसार नयाँ धितोपत्र व्यवसायीको लागि आवेदन खुलाउने भनिएको छ ।

बोर्ड आज (मंगलबार) सार्वजनिक गरेको उक्त नियमावलीमा ‘यो नियमावली प्रारम्भ भएको तीन वर्ष पछि बोर्डले धितोपत्र बजारमा उपलब्ध भौतिक सुविधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्था समेतको अध्ययन गरी धितोपत्र दलाल र धितोपत्र व्यापारीको लागि नयाँ अनुमतिपत्रको लागि निवेदन माग गर्ने छ ।’ उल्लेख गरिएको छ ।

बोर्डले आज सार्वजनिक गरेको उक्त नियमावलीमा कतै ३० दिन त कतै ३ वर्ष रहेको बोर्डका प्रवक्ता रुपेश केसीले बताए ।
उनले भने, ”नियमावलीमा उल्लेख भएको कुरा अलमल नै हो त्यसलाई हटाउन बोर्ड केही कदम चालिसकेको र कामहरु भइरहेको छ काम सकिने वित्तिकै हामी जानकारी गराउँछौं ।”

धितोपत्र बोर्ड सेयर ब्रोकर लाइसेन्सको नियमावलीमार्फत् ’इन्ट्री र एक्जिट’ सजिलै गर्ने पक्षमा छ। ब्रोकर भने नयाँ आउनेलाई अवरोध गर्न खोजिरहेको लगानीकर्ता बताउँछन् ।