काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी) मा भएको भनिएको १२ करोड रुपैयाँको आर्थिक अनियमितता तथा सङ्गठित अपराध सम्बन्धी अनुसन्धानका क्रममा विराटनगर दुग्ध वितरण आयोजना का प्रमुख नविन किशोर शर्मा पक्राउ परेका छन् ।
शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पक्राउ गरेको हो ।
ब्युरोका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च प्रशासनिक अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको मिलेमतोमा संस्थानलाई आर्थिक हानि पुर्याई गैरकानुनी लाभ लिएको भन्ने उजुरीमाथि प्रारम्भिक छानबिन गरिएको थियो।
छानबिनका क्रममा संगठित समूह बनाएर संस्थानलाई प्रत्यक्ष आर्थिक क्षति पु¥याउँदै रु. १२ करोड १३ लाख ४३ हजार ५३० बराबरको गैरकानुनी लाभ लिएको प्रारम्भिक रूपमा पुष्टि भएको ब्युरोले दाबी गरेको छ ।
घटनामा संलग्न रहेको आशंकामा शर्मालाई ‘आपराधिक विश्वासघात’ तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दा अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ । अदालतबाट पक्राउ अनुमति लिएपछि उनलाई आज ललितपुरको भैँसेपाटी क्षेत्रबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
यो प्रकरणमा डिडिसीका पूर्व उच्च अधिकारी, आयोजनाका प्रमुख तथा कर्मचारीहरू यसअघि पक्राउ परिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्