नेप्से २३ अंकले घट्यो, कारोबार रकम भने १ अर्ब माथि


काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयरबजारमा गिरावट आएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.८३ अंकले घटेर १८१५.१३ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.८३ अंकले घटेर ३५५.६० अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ ।
आइतबार कारोबार रकमका आधारमा लक्ष्मी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २६ करोड २ लाख ५७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै आज तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ७.९० प्रतिशतले घटेको छ ।

कूल २२८ वटा कम्पनीको ४० लाख १४ हजार ४ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।