बडादशैं शुरु, शुभकामनाले भरिए सामाजिक सञ्जाल, जमराको साइत १०ः२३ बजे


काठमाडौं । आजदेखि बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन घटस्थापनामा जमरा राखेर, पूजा गरेर दशैंको शुरुवात गर्ने परम्परा रहेको छ।

देशविदेशमा रहेका नेपालीहरु घर फर्कने वा आफन्तकहाँ आशिर्वाद लिन पुग्ने पर्वका रुपमा मान्यता पाएको दशैंको पहिलो दिन घटस्थापनासँगै सामाजिक सञ्जाल दशैंको शुभकामनाले भरिन थालेका छन् । बिहानैदेखि देशविदेशमा रहेका नेपालीले दशैंको शुभकामना व्यक्त गर्न थालेका हुन्।

व्यक्तिगत मात्र नभइ विभिन्न कम्पनी, सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले पनि आकर्षण कार्ड बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । प्रविधिको विकाससँगै प्रकाशन गरेर शुभकामना कार्ड वितरण गर्ने प्रचलनलाई डिजिटल कार्डले प्रतिस्थापन गर्दै आएको छ ।

घरको पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ ।आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ ।

आजदेखि नौ दिनसम्म देवीको आरधना गरी १० औं दिन विजया दशमीको दिन प्रसाद मानेर जमरा लगाउने गरिन्छ । बिहान ९ः१५ देखि १०ः२३ सम्मको समय घटस्थापनाको लागि शुभ समय निर्धारण गरिएको छ ।

आजदेखि नौ दिनसम्म महाकाली, महालक्ष्मी, र महासरस्वती माताको विशेष आरधना गर्ने गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ ।