५५ हजार मेटन मल मौज्दातमा, मंसिर भित्र थप सवा लाख मेटन भित्र्याइने


काठमाडौं । भारतबाट निरन्तर भित्रन थालेपछि लामो समयसम्म अभाव देखिएको रासायनिक मलको मौज्दात बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभरका विभिन्न डिपोमा युरिया, डिएपी र पोटाससमेत रासायनिक मलको मौज्दातमा रहेको छ ।

मन्त्रालयका अनुसार ४२ हजार नौ सय ९३ दशमलव ७३ मेट्रिक टन डिएपी, सात हजार नौ सय ८० मेट्रिक टन युरिया र चार हजार तीन सय २२ दशमलव तीन पोटास माैज्दातमा रहेको छ । धानबालीका लागि मल वितरण गरिएकाे र गहुँका लागि अभाव हुन नदिन मन्त्रालयले तयारी गरिरहेकाे जनाएकाे हाे।

उक्त मल मध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग पाँच हजार ९८ मेट्रिक टन युरिया, ४० हजार छ सय मेट्रिक टन डिएपी तथा चार हजार १५४ मेट्रिक टन बढि पोटास मौज्दात रहेको छ । त्यसैगरि साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडसँग दुई हजार आठ सय ८१ मेट्रिक टन बढि युरिया, दुई हजार तीन सय ९३ मेट्रिक टन बढि डिएपी र १६७ मेट्रिक टन बढि पोटास मोज्दात रहेको छ ।

थप १ लाख ३५ हजार मेट्रिक टन मल पाइपलाइनमा

कृषि सामग्री कम्पनी मार्फत चालू आवमा ग्लोवल टेण्डर आव्हान भएको १ लाख मेट्रिक टन मल मध्ये ३० हजार मेट्रिक टन युरिया प्राप्त भईसकेको छ भने ४० हजार मेट्रिक टन डीएपी प्राप्त भैरहेको मन्त्रालयले जनाएको छ। बाँकी ३० हजार मेट्रिक टन युरिया विशाखापटनम् बन्दरगाहमा व्यागिङ्ग भइरेहको मन्त्रालयले जानकारी दिएको छ।

त्यसैगरी जीटूजी प्रावधान अन्तर्गत ३० हजार मेट्रिक टन युरिया खरिदको लागि भारतलाई पर्चेज अर्डर पठाएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताए । उक्त मल उपलव्ध गराउने भारितय कम्पनी आरसिएफ लाई अग्रीम भुक्तानीको लागि कार्य भैरहेको तथा सो मल कार्तिक मसान्त सम्म नेपाल आइपुग्ने उनले बताए।

त्यस्तै साल्ट ट्रेडिङ्ग मार्फत ३० हजार मेट्रिक टन युरिया भारतको विशाखापटनम् बन्दरगाहामा नेपालको लागि लोडिङ्ग भैरहेको र असोज ३१ सम्ममा विरगंज आईपुग्ने सञ्जेलले बताए ।

साल्ट ट्रेडिङ्ग नै ल्याउने २७ हजार ५०० मेट्रिक टन युरिया खरिद सम्झौता भैसकेको मन्त्रालयले जनाएको छ । सो मल मंसिर पहिलो हप्ता नेपाल आइपुग्ने छ । २० हजार मेट्रिक टन डी ए पी मल खरिदको लागि टेण्डर भई खरिद सम्झौता हुने क्रममा रहेको । सो मल मंसिर अन्तिम सम्ममा नेपाल आईपुग्ने मन्त्रालयको भनाइ छ ।