मर्जर वा प्राप्ति भएको २ वर्षभित्र सीडी रेसियो तोकिएको सीमाभित्र ल्याउनुपर्ने


काठमाडौं । गाभ्ने गाभिने तथा प्राप्ति मर्जरमा गएको दु्ई वर्ष भित्र बैंकहरूले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) तोकिएको अनुपात भित्र ल्याउनुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली पाँचौ पटक संशोधन गर्दै गाभिएको वा प्राप्ति कार्य सम्पन्न भएको बढीमा दुई वर्षभित्र तोकिएको सीमाभित्र ल्याउनुपर्ने व्यवस्था गरेको छ ।

संशोधित विनियमावलीमा भनिएको छ,“गाभ्ने/गाभिने वा प्राप्ति (एक्विजिशन) का कारण संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) तोकिएको सीमाभन्दा माथि गएमा राष्ट्र बैङ्कको निर्देशन बमोजिम हुने गरी गाभिएको वा प्राप्ति (एक्विजिशन) कार्य सम्पन्न भएको बढीमा दुई वर्षभित्र तोकिएको सीमाभित्र ल्याउन ।”

यस अगाडी गाभिंदा वा प्राप्ति (एक्विजिशन) का कारण संस्थाको स्रोत परिचालन (स्वदेशी निक्षेप तथा प्राथमिक पूँजी) मा कुल स्वदेशी कर्जा सापटको अंश तोकिएको प्रतिशत नाघ्न गएमा राष्ट्र बैङ्कको निर्देशन बमोजिम हुने गरी गाभिएको वा प्राप्ति (एक्विजिशन) कार्य सम्पन्न भएको बढीमा दुई वर्षभित्र असी प्रतिशतको सीमाभित्र ल्याउने व्यवस्था थियो ।

यस्तै राष्ट्र बैंकले शेयर कारोबारको रोक्का तथा फुकुवा धितोपत्र बोर्डले गरेको व्यवस्था बमोजिम हुने व्यवस्था गरेको छ । “गाभ्ने गाभिने तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोवारको रोक्का तथा फुकुवा नेपाल धितोपत्र बोर्डले गरेको व्यवस्था बमोजिम हुनेछ,” विनियमावलीमा थप गरिएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा नै सेयर कारोवारको रोक्का तथा फुकुवा नेपाल धितोपत्र बोर्डले गरेको व्यवस्था बमोजिम हुने व्यवस्था गरेको थियो ।