वर्ड प्रेस नेपालले ‘वर्डक्याम्प नेपाल २०२२’ आयोजना गर्दै


काठमाडौं । वर्ड प्रेस नेपालले ‘वर्डक्याम्प नेपाल २०२२’ आयोजना गर्ने भएको छ । वर्ड प्रेस नेपालले चितवनको भरतपुरमा कार्तिक १९ र २० गते वर्ड प्रेस क्याम्प गर्न लागेको डब्लुपी नेपालका अध्यक्ष सुवास खड्काले बताए । इभेन्ट डे र कन्ट्रिव्यूसन डे भनेर दुई भागमा विभाजन गरेर कार्यक्रम हुने उल्लेख गरिएको छ ।

क्याम्पमा वर्डप्रेस डिभेलोपर्स, प्रयोगकर्ता र यसप्रति चासो राख्ने व्यक्तिको सहभागिता रहने अध्यक्ष खड्काले बताए । अध्यक्ष खड्काले भने,”वर्डप्रेससँग चासो राख्ने तथा यसको प्रयोग र विकास गर्ने व्यक्तिहरू सहभागी हुने वर्डप्रेस प्रयोगकर्ता र डिभेलपर्स तथा यसका पारखीहरूलाई एकै ठाउँमा अनुभव आदान प्रदान गर्ने र यस सम्बन्धी संजाल निर्माण गरी अवसरहरूको सदुपयोग गर्न प्लेटफर्म निर्माण गर्ने यस क्याम्पको मुख्य उद्देश्य रहेको छ ।”

सहभागिताको लागि हालसम्म पाँचसय भन्दा बढीले नाम दर्ता गराइसकेको वर्ड क्याम्प नेपाल २०२२ का मिडिया संयोजक पितम बहादुर सेनले बताए ।

क्याम्पमा २५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरुले प्रस्तुती दिने, जनसम्पर्क विस्तार र अवसरहरूको आदानप्रदान, वर्डप्रेस कार्यशाला, वर्डप्रेसको विकासका लागि योगदान दिने विज्ञहरूसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।

वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना गर्दै आइरहेको छ । वर्डक्याम्प वर्डप्रेससम्बन्धी विश्वव्यापी रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्वका ६५ देशका ३७९ शहरहरूमा एक हजार एक सय चौबीस वर्डक्याम्पहरू सम्पन्न भइसकेका छन् । नेपालमा पनि हालसम्म देशको राजधानी काठमाडौं, पोखरा, भरतपुर, विराटनगर र बुटवल गरी १४ वटा वर्डक्याम्प सफलतापूर्वक सम्पन्न भइसकेको मिडिया संयोजक सेनले बताए ।