निर्वाचन अगाडीनै लाइसेन्स बाँड्न हतार, सेबोन र बीमा समितिसँग आयोगले माग्यो स्पष्टीकरण


काठमाडौं । निर्वाचन आयोगले निर्वाचन नेपाल धितोपत्र बोर्ड (सेबोन) र बीमा समितिसँग स्पष्टीकरण मागेको छ ।

आयोगले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाईसेन्स, कमोडिटी बजारको लाइसेन्स र लघुविमा कम्पनीहरुको नयाँ लाईसेन्स आचारसंहिताविपरित वितरण गर्न लागेकोले सम्बन्धीत निकायहरु संग स्पष्टिकरण सोधेको जनाएको छ ।

आयोगले शनिबार नेपाल धितोपत्र बोेर्ड, बीमा समिती र अर्थमन्त्रालयलाई एक पत्र लेख्दै आचार संहिता लागेको समयमा खुलेको लाईसेन्स प्रक्रियालाई किन नरोकेको भनि स्पष्टिकरण माग गरिएको हो । आयोगले ति निकायहरुलाई तिन दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।

बीमा समितिले भदौ १० गते लघु बीमा र सेवनले कमोडिटी एक्सचेञ्ज, स्टक एक्सचेञ्ज र शेयर ब्रोकरलगायतको लाइसेन्सका लागि आवेदन असोज २ गतेदेखि मागेको थियो ।

आचारसंहिता लागू भएपछि बीमा समितिलाई लघुबीमा र सेबोनलाई कमोडिटी एक्सचेञ्ज, स्टक एक्सचेञ्ज र शेयर ब्रोकरलगायतको लाइसेन्स वितरणको प्रक्रिया किन अगाडि बढाएको भनेर आयोगले सोधेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ५ मा वार्षिक बजेट तथा कार्यक्रमभन्दा बाहेकका लाइसेन्स वितरण, कुनै नयाँ स्वीकृति वा सञ्चालनको अनुमति दिन नहुने व्यवस्था छ । तर, समिति र सेबोनले आचारसंहिता लागू भएपछि पनि लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढाएका थिए पौडेलले भने ।

आयोगले मंसिर ४ गते हुने निर्वाचनको लागि असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागु गरेको थियो ।