घाँस खेतीबाट मनग्य आम्दानी


नवलपुर । जिल्लाको गैँडाकोट नगरपालिकाका कृषक कृष्ण भट्टले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा घाँस खेती गर्दै आएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–१२ मा डेढ बिघा क्षेत्रफलबाट घाँस खेती सुरु गरेका उनले हाल १४ बिघा क्षेत्रफलमा घाँस खेती गर्दै आएका छन् ।

श्री स्वस्थानी घाँस स्रोत केन्द्र तथा बाख्रा फर्म स्थापना गरी सोहीमार्फत जग्गा भाडामा लिएर उनले व्यावसायिक घाँस खेती गर्दै आएका हुन्। गैँडाकोटसहित देवचुली, कावासोतीका विभिन्न क्षेत्रमा उनले घाँस खेतीसहित उखु र गिठ्ठा लगाएका छन् । व्यावसायिक घाँस खेतीमा लागेर उनले यस खेतीबाट राम्रो आम्दानीसमेत गर्दै आएका छन् । वार्षिक रूपमा घाँस बिक्रीबाट रु २५ लाखसम्म आम्दानी गर्ने गरेको उनको भनाइ रहेको छ । कृषक भट्टले घाँससहित घाँसका बिरुवासमेत बिक्री गर्दै आएका छन् ।

“घाँस खेतीबाट राम्रै आम्दानी छ, थोरैबाट यसतर्फ लागे अहिले क्षेत्र विस्तार गर्दै गएको छु”, उनले भने, “घाँससहित घाँसका बिरुवाको बिक्रीसमेत राम्रो नै छ ।”

आफूले लगाएको घाँस जिल्लाकै पशुपालक किसानले खरिद गरी लैजाने गरेको उनले बताए । घाँसका बिरुवा भने नवलपुरसहित देशका विभिन्न जिल्लाका किसानले खरिद गरी लैजाने गरेको कृषक भट्टले बताए । घाँस बिक्रीमा खासै समस्या नभएको उनको भनाइ रहेको छ । जिल्लाका पशुपालक कृषक घाँस लगाएको खेतमै आएर घाँस खरिद गरी लैजाने गरेको बताए ।

उनले सुपर नेपियर, मलाटो, नेपियरलगायतका घाँस खेती गर्दै आएका छन् । घाँस प्रतिकेजी रु छ र घाँसका बिरुवा प्रजाति हेरी प्रतिबिरुवा रु दुईदेखि रु ५० सम्ममा बिक्री हुने गरेको भट्टले बताए । हरियो घाँसभन्दा घाँसको बिरुवा बिक्रीबाट धेरै आम्दानी लिने गरेको उनको भनाइ रहेको छ ।

घाँस पशुपालक किसानका लागि अतिआवश्यक भएकाले आफूले सबै जसो किसानलाई घाँसखेती गर्न उत्प्रेरित गर्ने गरेको उनले बताए । घाँस लगाउँदा पशुपालक किसानका लागि दानाको विकल्प हुने हुँदा उत्पादन लागत घट्ने र यसले आम्दानी बढाउने हुँदा पशुपालक कृषकलाई घाँस खेती गर्न सुझाव दिने गरेको किसान भट्टको भनाइ छ । परालभन्दा समेत सस्तो हुने र हरियो घाँसमा पोषक तत्वसमेत कायम रहने हुँदा यो पशुपालक किसानका लागि लाभदायक हुने उनले बताए ।

“दाना तथा परालको विकल्प घाँस हुन्छ, यसले एकातर्फ पशुलाई पोषिलो आहारा प्राप्त हुन्छ, अर्कोतर्फ उत्पादन लागत घटेर, आम्दानी बढ्छ”, उनले भने, “यसकारण म पशुपालक किसानले घाँस खेती गरुन् भन्ने चाहन्छु ।”

कृषि उत्पादनबाटै देशको अर्थतन्त्र मजबुत बनाउन सकिने धारणा राख्ने भट्टले कृषिको विकासका लागि राष्ट्रिय कृषि सैनिक तयार पार्नुपर्ने तर्क गरे । धेरैभन्दा धेरै कृषिमा लाग्ने युवा तयार पारी उत्पादन वृद्धि गर्ने योजनाका साथ काम गर्नुपर्ने उनको धारणा रहेको छ ।

उनले घाँस खेतीसहित पाँच बिघा क्षेत्रफलमा रानी गिठ्ठाको समेत व्यावसायिक खेती गर्दै आएका छन् । चार वर्षअघि रु १० लाखको लागतमा रानी गिठ्ठाको व्यावसायिक खेती सुरु गरेको कृषक भट्टले बताए ।

एक पटक लगाएको गिठ्ठाबाट पटक पटक उत्पादन लिन सकिने उनको भनाइ छ । जमिनमुनि र माथि लहरामा समेत फल्ने भएकाले उत्पादन राम्रो भएको कृषक भट्टले बताए । उत्पादित गिठ्ठा स्थानीय बजारसँगै, चितवन, पोखरा, काठमाडौँलगायतका सहरमा बिक्री हुँदै आएको उनले जानकारी दिए । रासस