नेप्से परिसूचक ७ अंकले बढ्दा कारोबार रकम झण्डै डेढ अर्ब


काठमाडौं । तिहार पछि खुलेको सेयर बजार लगातार उकालो लागेको छ । कारोबारको तेस्रो दिन बुधबार नेप्से परिसूचक ७.३२ अंकले बढेको छ भने कारोबार रकम पनि झण्डै डेढ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ७.३२ अंकले बढेर १९३८.३० अंकमा पुगेको छ । भने सेन्सेटिभ परिसूचक पनि ०.७९ अंकले बढेर ३८२.९४ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कुल १३ उपसमूहमध्ये ३ वटा उपसमूह घटेको छ भने बाँकी सबै उपसमूह उकालो लागेका छन् ।

बुधबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७ करोड ८५ लाख ६० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । बैंकको सेयरमूल्य ८.७४ प्रतिशतले बढेर प्रतिकित्ता २ सय ८८ रूपैयाँ ५० पैसा पुगेको छ ।

त्यसैगरी, यस दिन सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको सेयरमूल्य ३.९६ प्रतिशतले घटेको छ ।

कूल २२७ वटा कम्पनीको ४३ लाख ४६ हजार ७ सय ८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८ सय ७५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।