परिसंघ-आईएमएफ प्रतिनिधिबीच भेटवार्ता, अर्थतन्त्र बारे छलफल


काठमाडौं । नेपाल उद्योग परिसंघ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपालका प्रतिनिधिबीच भेटवार्ता भएको छ ।

बिहीबार परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र आईएमएफ नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजबीच भएको छलफलमा नेपालको अर्थतन्त्रका विषयमा छलफल भएको हो ।

परिसंघ सचिवालयमा भएको भेटमा मुलुकको पछिल्लो अर्थतन्त्र, उद्योगी व्यवसायीहरुले भोगेको समस्या, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायतका विषयमा छलफल भएको हो ।

छलफलमा अध्यक्ष अग्रवालले लगानी योग्य रकमको अभाव, उच्च ब्याजदर, कम पूँजीगत खर्च, नेपाल राष्ट्र बैंकले हालै लागू गरेको चालु पूँजी कर्जा निर्देशिकालगायतका कारण उद्योगी व्यवसायीको आत्मविश्वास कमजोर भएको बताए ।

अग्रवालले मागमा आएको संकुचनका कारण उद्योगको प्रकृतिका आधारमा ३० देखि ७० प्रतिशतसम्म उत्पादन र मागमा गिरावट आएकाले अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्रको आत्मबल बढाउने खालको नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिए ।

आईएमएफ नेपाल प्रतिनिधि सांचेजले कोभिड १९ को असरबाट विस्तारै बाहिर आउने क्रममै रसिया युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई नै समस्यामा पारेको चर्चा गरिन् । यसका बाबजूद एसियाको अर्थतन्त्र तुलनात्मक रुपमा राम्रो रहेको बताइन्।

नेपालप्रति अन्तर्राष्ट्रिय समुदाय निकै सकारात्मक रहेको भन्दै आगामी दिनमा त्यसले नेपाललाई फाइदा गर्ने उनको भनाइ छ ।
भेटमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे, मानार्थ उपाध्यक्ष अनुज अग्रवाल, परिसंघ बैंक तथा वित्तीय समिति सभापति अनलराज भट्टराई, महानिर्देशक दीपकराज जोशीलगायत संलग्न थिए।