क्रिकेटर सन्दिपलाई थुनामा राख्न अदालतको आदेश


काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

शुक्रबार थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमेरेको एकल इजलासले लामिछानेलाई थुनामै राखेर अनुशन्धान गर्न आदेश दिएको हो ।

अदालतको आदेशसँगै अब लामिछानेलाई केन्द्रिय कारागारमा पठाइने प्रहरीले जनाएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध १० देखि १२ वर्षको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अब मुद्दाको फैसला नहुञ्जेल सन्दीप थुनामै रहने भएका छन् ।

गत भदौ ५ गते राति सिनामंगलको एक होटलमा लगेर सन्दीपले १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ । पीडित किशोरीले भदौ २१ गते गौशाला प्रहरीमा उजुरी दिएकी थिइन् ।

उक्त उजुरीसँगै क्रिकेट खेल्न देशबाहिर रहेका लामिछानेलाई असोज २० गते त्रिभुवन विमानस्थलमा ओर्लिने वित्तिकै प्रहरीले पक्राउ गरेको थियो ।