नेप्से परिसूचक घटेपनि कारोबार रकम २ अर्ब माथि


काठमाडौं । साताको कारोबारको पहिलो दिन ४३ अंकले बढेको नेप्से पसिसूचक दोस्रो दिन भने ओरालो लागेको छ । सोमबार नेप्से परिसूचक ६ अंकले घट्दा २ अर्ब माथि कारोबार भएको छ ।

लगगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा बजारमा करेक्सन आएको एक लगानीकर्ताले बताए । उनका अनुसार निर्वाचनको कारणले पनि एक खालको माहोल आएको छ बजार अझै बढ्ने यात्रामै छ आजको करेक्सन नाफा बुक गर्दाको मात्रै हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६.४३ अंकले घटेर १९५८.९४ अंकमा झरेको छ भने सेन्सेटिभ परिसूचक पनि २.१९ अंकले घटेर ३८५.३३ अंकमा झरेको छ ।

नेप्सेमा आज कारोबार भएका कुल १३ उपसमुहमध्ये ८ वटा उपसमुह बढेका छन् भने बाँकी ५ वटा उपसमुह घटेका छन् ।

सोमबार कारोबार रकमका आधारमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ । संस्थाको १५ करोड १६ लाख १३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । संस्थाको सेयरमूल्य ८.१३ प्रतिशतले बढेको छ ।

त्यस्तै आज ग्लोबल आईएमई लघुुवित्त वित्त्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५।७० प्रतिशतले घटेर प्रतिकित्ता एक हजार २ सय ७ रूपैयाँमा झरेको छ ।

कूल २२४ वटा कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३ सय ८४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।