बीमा समिति आजदेखि ‘बीमा प्राधिकरण’मा रुपान्तरण


काठमाडौं । बीमा व्यवसायहरुको नियमनकारी निकाय बीमा समिति आजदेखि ‘बीमा प्राधिकरण’मा रुपान्तरण भएको छ । आज कात्तिक २२ गतेबाट नयाँ बीमा ऐन, २०७९ लागू भएसँगै बीमा समिति पनि ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण भएको हो।

समितिमा मंगलबार एक कार्यक्रमका बीच समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा गरिएको छ । बीमा समितिले गर्दै आएका काम अब प्राधिकरणमार्फत हुनेछन् ।

बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियोे ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा समिति प्राधिकरण बनेको हो ।

ऐनको व्यवस्थाअनुसार हाल कायम समितिका अध्यक्षलगायत सञ्चालकहरूले स्वतः प्राधिकरण सञ्चालकमा निरन्तरता पाउनेछन् । यस्तै समितिका कर्मचारी र यसले गर्दै आएको काम कारबाहीको दायित्व पनि स्वतः प्राधिकरणमा सर्नेछ ।