उपभोक्ता मुद्रास्फिती ८.५०, खाद्यतर्फ ८.०५ प्रतिशत


काठमाडौं । उपभोक्ता मुद्रास्फिती ८.५० मा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौं महिनाको तुलनामा असोजमा मुद्रास्फिती केहि सुधार देखिएको हो । गत भदौ महिना ८.६४ रहेको मुद्रास्फिती असोजमा ८.५० रहेको छ ।
गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मुद्रास्फीति २१.१५ प्रतिशत, स्वास्थ्य १०.५४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ९.४५ प्रतिशत र शिक्षाको ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ७.६८ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ असोज महिनामा यी क्षेत्रहरुमा क्रमशः ३.४८ प्रतिशत, ४.०१ प्रतिशत, ५.६८ प्रतिशत र ३.१२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३.७३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.२४ प्रतिशत, १७.१३ प्रतिशत र ६.०० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.२७ प्रतिशत रहेको छ ।