बुधबार पनि नेप्सेको गिरावट कायमै, डेढ अर्ब माथिको कारोबार


काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयर बजारको गिरावट कायमै रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ४.४४ अंकले घटेर ३७३.६४ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज होटल तथा पर्यटन उपसमूहबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।

बुधबार नेप्सेमा कारोबार रकमका आधारमा सानिमा बैंक लिमिटेडको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ । बैंकको संस्थापक सेयरको ६७ करोड २ लाख ९३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.०९ प्रतिशतले बढेको छ ।

त्यस्तै आज नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।

कूल २४६ वटा कम्पनीको ८० लाख ९२ हजार ७ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५ सय ५० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।