एग्रो टुरिजम सहकारीको विरौटा सदस्य सेवा केन्द्र सञ्चालनमा


पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ ठुलढुङ्गाचोक, गण्डकीवेसी प्रधान कार्यालय भएको एग्रो टुरिजम सहकारी संस्था लिमिटेडले बिहीबारदेखि विरौटा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

सेवा केन्द्रको एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गरे ।

कार्यक्रममा मन्त्री बुढाले आर्थिक समृद्धिका लागि उत्पादनसँग जोडिनु वर्तमानको आवश्यकता भएको बताउँदै सहकारीले कृषि र पर्यटनलाई जोड्ने लक्ष्यका साथ अघि बढाएको योजनाको सफलताको कामना गरे ।

सहकारीका अध्यक्ष डिल्लीराम बरालले सहकारीले उत्पादनसँग जोडिदै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको बताए । सहकारीले कृषि एम्बुलेन्स सञ्चालनको लक्ष्य लिएको बताउँदै उनले एक सहकारी एक उत्पादनको योजना अनुसार उत्पादित बस्तुको बजारीकरणमा पनि जोड दिइएको बताए ।

उनका अनुसार संस्थाको सुरुको पूँजी चार करोड १२ लाख ५० हजार रुपैयाँ रहेकोमा शेयर सदस्य संख्या ४६७ जना रहेको छ ।

सहकारीका उपाध्यक्ष टीकाराम पौडेलले आफूहरूको यो अभियान उत्पादन र पर्यटनलाई जोड्नु भएको बताउँदै यसबाट समृद्धि हासिल हुने विश्वास लिइएको बताए ।संस्थाले सहकारी नमुना ग्राम निर्माणको दीर्घकालीन लक्ष्य लिएको उनको भनाई थियो ।