‘उद्योगमा लगानी गर्ने वातावरण छैन’


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेशलाल श्रेष्ठले सरकारले उद्योगमा लगानी गर भने पनि त्यसको लागि वातावरण नभएको बताएकाछन् । आइतबार काठमाडौँमा नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले भाडादर वृद्धिको विरुद्ध गरेको कार्यक्रममा श्रेष्ठले सरकारले निजी क्षेत्रले व्यापारमात्र गरेको उद्योगी बन्दा सहयोग गर्छु भन्ने तर त्यसको लागि वातावरण नबनाएको बताए । उनले भने,“सरकारले व्यापारी नबनी उद्योगी बन्न भन्ने तर नेपालमा उद्योगमा लगानी गर्ने वातावरण छैन । सरकारले उद्योग लागत सरकारले घटाएन भने उद्योग बन्द हुन सक्छ ।”

श्रेष्ठले औद्योगिक क्षेत्रले कानुन विपरित भाडा वृद्धि गरेको बताए । सरकारले कानुन विपरित भाडा बढाउनुभन्दा जग्गा लिजमा दिने व्यवस्था गर्नुपर्ने बताए । उनले भने,“सरकारले जग्गा सुविधाजनक अवस्थामा लिजमा दिए उत्पादनको लागत कम हुन्छ । यो सँगै बैंकको ब्याजदर र असम्बन्धित कर घटाउँदा लागत घट्ने भएकोले त्यसले सामानको मुल्य घट्छ ।”

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकले काठमाडौं, भक्तपुर र ललितपुरमा ८०० प्रतिशतसम्म अन्य औद्योगिक क्षेत्रमा ९१ प्रतिशतसम्म भाडा वृद्धि भएको बताए । उनले भने,“काठमाडौं, भक्तपुर र ललितपुरमा ८०० प्रतिशतसम्म भाडा वृद्धि भएको छ । अन्य औद्योगिक क्षेत्रमा ९१ प्रतिशतसम्म भाडा वृद्धि भएको छ । एकैचोटी ८०० प्रतिशत भाडा वृद्धि गर्दा नियम संगत भएको छैन ।” पाठकका अनुसार देशभरका १० ओटा औद्योगिक क्षेत्रमा ७५० उद्योग र त्यसमा खर्बौको लगानी रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापति भरत आचार्यले भाडा वृद्धि गर्ने कुरामा सहमत भएको तर सनककोभरमा गर्न नहुने बताए । उद्योगहरु भाडा वृद्धिको निर्देशनात्मक निर्णय मान्न तयार नरहेको जनाएको छ । सञ्चालक समितिले उद्योग महासंघसँग सहमति नगरी गरेको भाडावृद्धिको निर्णय फिर्ता नहुदासम्म कुनैपनि उद्योगले लिमिटेडलाई भुक्तानी गर्नुपर्ने सबै रकम रोक्का राख्ने उल्लेख गरेको छ । भुक्तानी रोक्का गरिएको आधार बनाई कुनै उद्योगलाई दबाब दिने वा कारबाही गर्ने कार्य भएमा लिमिटेडले त्यसको गम्भिर मुल्य चुकाउनु पर्ने जानकारी दिएको छ ।