नेपाल लाइफ इन्स्योरेन्सका कर्मचारी आन्दोलनमा, व्यवस्थापन पक्षलाई कार्यालय प्रवेशमा रोक


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । कम्पनीले खाइपाइ आएको तलब, सेवा सुविधाहरु कटौती गरे पछि कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएको स्रोतले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्वतन्त्र कर्मचारी युनियनले श्रमजीवी कर्मचारीहरुको वृत्तीविकासमा नै प्रत्यक्ष असर गर्ने गरी ल्याइएको केपिआइ ‘प्रमुख प्रदर्शक सूचक’ खारेजको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

पुस एक गते देशभरका क्षेत्रीय, शाखा तथा उपशाखा कार्यालयका साथै प्रधान कार्यालयका सम्पुर्ण कर्मचारीहरुलेक कालो पट्टी बाधेर विरोध जनाएको एक कर्मचारीले बताए ।

कमर्चारीहरुले हिजो पुस ४ गते सोमबारदेखि विभिन्न १५ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

जसमध्ये हिजो पहिलो दिनको विरोध कार्यक्रमलाई निरन्तरता दिदै सम्पुर्ण विभागिय प्रमुख तथा व्यवस्थापन टोलिहरुलाई पहिलो एक घण्टा कार्यकक्ष प्रवेशमै रोक लगाउनुका साथै उपत्यकाभित्रका सम्पुर्ण शाखा प्रमुखहरु सहित प्रधान कार्यालयको प्राङ्गणमा शान्तिपुर्ण धर्ना दिएको कर्मचारी युनियनले जनाएको छ ।

त्यस्तै युनियनले आज दोस्रो दिनको विरोध कार्यक्रमलाई निरन्तरता दिँदै सम्पुर्ण विभागीय प्रमुख तथा व्यवस्थापन टोलीहरुलाई दिउँसो एक बजेसम्मका लागि कार्यकक्ष प्रवेशमा रोक लगाउने तय गरेका हुन् । यसका साथै, उपत्यकाका सम्पुर्ण शाखा प्रमुखसहितको प्रधान कार्यालयको प्राङ्गणमा शान्तिपुर्ण धर्ना कार्यक्रम गर्ने भएका छन् ।

युनियनले तय गरेका संघर्षका कार्यक्रमलाई कम्पनीले संबोधन नगरेमा अझै सशक्त आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी दिएको छ ।

युनियनले गत असर १३ गते नै कम्पनीको कर्मचारी सेवा शर्त विनियमावलीमा भएका व्यवस्था हाल कर्मचारीहरुले खाइपाइ आएको सेवा सुविधालाई नघटाउन मागपत्र पेश गरेको थियो ।

यसका साथै अन्य कम्पनीबाट माथिल्लो तहमा कुनै पनि कर्मचारी नियुक्त नगर्ने सहमति भएपनि व्यवस्थापन पक्षले सम्बोधन नगरेपछि युनियनले साउन २५ गते ध्यानाकर्षण गराएको थियो ।

कम्पनीले कर्मचारीका मागलाई वेवास्था गरेपछि कात्तिक १८ गते युनियनका पदाधिकारी र व्यवस्थापन समुहबिच वार्ता भएको थियो ।

उक्त वार्तामा लिखित तथा मौखिक रुपमा कर्मचारीका सेवा सर्तका विषयमा छलफल तथा सहमति कार्यान्वयनको लागि मंसिर २९ गतेसमम समय दिएको थियो । तर पनि व्यवस्थापन समितिले वेवस्था नगरेपछि पुस ३ गतेदेखि कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएको स्रोतले बतायो ।