पोखरा महानगर लेखा समितिले भन्या,‘बेरुजु अत्याधिक बढ्यो,फर्छ्यौटको ब्यवस्था मिलाउ’


पोखरा । पोखरा महानगरपालिकाको बेरुजु अत्याधिक बढेको भन्दै शीघ्र फर्छ्यौटको व्यवस्था मिलाई सोको प्रगती विवरण लेखा समितिको बैठकम पेश गर्न निर्देशन दिएको छ ।

महानगर लेखा समितिको नवौं बैठकले बेरुजु अध्याधिक बढ्दै गइरहेको र फर्छ्यौटको गति सुस्त रहेको औंल्याएको छ ।

आगामी दिनमा शून्य सहनशीलता स्थापित हुने गरी स्पष्ट कार्यविधि एवं कार्ययोजना बनाई शीघ्र फर्छ्यौटको ब्यवस्था मिलाई प्रगति विवरण समितिमा पेश गर्न बैठकले महानगर कार्यपालिकालाई समितिले निर्देशन दिएको छ ।

प्रयोजन समेत नखुलेको दुबै अवस्थामा कार्यालयले कर्मचारीलाई जिल्ला बाहिर विशेष कामकाज खटाउने गरेको पाइएको भन्दै आगामी दिनमा बस्तुनिष्ठ र मितब्ययी तरिकाले काजमा खटाउने कार्यलाई कडाइका साथ पालना गर्न समितिले निर्देशन दिएको छ ।

समितिले महानगरका कर्मचारीहरूलाई आवास सम्बन्धी कुनै पनि नीतिगत एवं कानुनी व्यवस्था विनानै घरभाडाका लागि ठूलो रकम खर्च हुने गरेको भन्दै उक्त खर्च नियन्त्रण गर्न नवौ बैठकबाट निर्देशन दिइएको लेखा समिति संयोजक झपट रानाभाटले जानकारी दिए ।

उनका अनुसार कार्यालयमा माली, कुचीकार, कार्यालय सहयोगी, जस्ता पदमा बाहेक अन्य पदमा कर्मचारी राख्न नपाउने ब्यवस्था भएपनि अन्य पदहरूमा समेत करारमा कर्मचारी भर्ना गरिरहेको देखिएको भन्दै आगामी दिनमा आवश्यक भएमा लोकसेवा आयोगसंग माग गर्ने कानुनी व्यवस्थालाई पालना गर्न निर्देशन दिएको छ ।

बैठकले कार्यालयमा प्राविधिक जनशक्ति उपलब्ध हुँदाहुँदै महानगरभित्र अन्य निकायका भवन निर्माणको एवं नक्सा डिजाइन उपर निगरानी, चेकजाँच गरी स्वीकृति गर्ने अवस्था भएपनि महानगरको आफनै भवनको डिजाइन बनाउन समेत बाहिरबाट परामर्श सेवाका नाममा लाखाैँ रकम खर्च भएको देखिएकाले रोक्न निर्देशन दिएको संयोजक रानाभाटले जानकारी दिए ।

कार्यपालिका बैठक,तालिम आदि सञ्चालनका लागि कार्यालय हल हुदाँहुदै विभिन्न रिसोर्टमा ठूलो रकम खर्च हुने गरेको देखिएकाले त्यसबाट नागरिकमा आफुले तिरेको राजश्व रकम दुरुपयोगको बढदो टिप्पणी एवं चिन्ता ब्यक्त हुने गरेकाले नागरिकले तिर्ने रकमको सम्मान र सदुपयोगको प्रत्याभुति गर्ने गरी कार्यपालिका बैठक कार्यालय बाहिर गर्न निरुत्साहित गर्नुपर्ने देखिएको भन्दै सचेत गराएको छ ।

समितिले भाटभटेनी,पानी पधेरो, मणिपाल लगायतका निजी हस्पिटलहरु, सेल्वेज, टे«ड महल, अन्नपूर्ण, विशाल बजार, वाटर फ्रन्ट बाराही, ग्राण्ड, हिमालयन ग्लोरी, सांग्रीला लगायतका होटलहरु र नीजि विद्यालय मदरल्याण्ड, कुमुदिनी होम्स, सेन्ट मेरीज जस्ता, बोडिङ समेतका ठूला करदाताको कर सम्बन्धी लगत राख्ने, व्यवसाय दर्ता, बक्यौताको विवरण तयार गरी असली गर्न निर्देशन दिएको लेखा समिति सभापति रानाभाटले बताए ।

समितिले कर बढाउन करदाता शिक्षा, कर संकलन र ब्यवसाय दर्ता अभियान सञ्चालन गर्न समेत निर्देशन दिएको लेखा समितिका सदस्यसचिव रोमनाथ उपाध्यायले जानकारी दिए ।

लेखा समितिले मंगलबार महानगरको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य र आर्थिक विकास महाशाखा मनहर कडरियालाई कार्यालयमा बोलाई शैक्षिक क्षेत्र र कृषिका बारेमा जानकारी लिएको छ ।

लेखा समिति सभापति झपट रानाभाट,सदस्य बलराम पौडेल, विष्णुमणी बराल, दुर्गादेवी के.सी.थापा, रामजी प्रसाद पौडेलले शिक्षा क्षेत्रमा रहेको ब्यथितिलाई सुधारका लागि कार्ययोजना बनाएर ल्याउन विशेष निर्देशन दिएको सदस्यसचिव रोमनाथ उपाध्यायले बताए ।