स्वदेशी मिल्क बदाम जुसमाथि अन्त : शुल्क लगाउने सरकारकाे तयारी


काठमाडौं । सरकारले मिल्क बदाम जुसमाथि अन्त : शुल्क लगाउने गरी प्रकृया अगाडि बढाएको छ ।

कृषिजन्य पदार्थमा आधारित स्वदेशी उद्योगले उत्पादन गरेका मिल्क बदाम जुसमाथि अन्तःशुल्क लगाउन भन्दै आन्तरिक राजवश्व विभागले सम्बन्धित आन्तरिक राजश्व कार्यालयलाई छानविन तथा अनुसन्धान गरी प्रगति विवरण पठाइदिन भन्दै पत्रचार गरेको हो ।

सरकारले अहिलेसम्म मिल्क बदाम जुसमाथि अन्त :शुल्क लगाइएको थिएन । विभागले मिल्क बदाम जुसमा प्रतिलिटर २५ रुपैयाँका दरले अन्तःशुल्क संकलन नगरेको विषयमा छानविनका लागि विभागले पत्रचार गरेको छ ।

विभागले केही उद्योगमा खानतलासी समेत गर्न भनेको छ । उद्योगीले सरकारको यो निर्णयले आश्चर्यमा परेको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन् ।

कृषिजन्य पदार्थमा आधारित स्वदेशी उद्योगले गरेको उत्पादनलाई सरकारले निरुत्साहित गर्न खोजेको भन्दै उद्योगीले आपत्ति जनाएका छन् । उनीहरूले याे नियम विपरीत भएकाे समेत दाबी गरेका छन् ।

महा बालेश्वर डेरी एण्ड बेभरेज प्रा.लि. सञ्चालक मेघराज भण्डारीले यो निर्णयले मिल्क बदाम जुस उत्पादन गर्ने स्वदेशी उद्योग धरासयी हुने बताए ।

उनले भने,“ अहिलेसम्म सरकारले राम्रो गरिरहेको छ भन्ने लागेको थियो तर अहिले आएर एकाएक कर लगाउने भनेपछि यसले हामीलाई निराश बनाएको छ ।”

मिल्क बदाम जुस अहिले धेरैजसो स्वदेशी उत्पादनले नै धानिरहेको छ । भण्डारीले स्वदेशी उत्पादन प्रर्वद्धन गर्नुको साटो सरकारले कृषिजन्य पदार्थमा आधारित स्वदेशी उद्योगले उत्पादन गरेका मिल्क बदाम जुसमाथि कर थोपरेर आयातलाई बढावा दिन खोजेको गुनासो गरे ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले सरकारको यो निर्णय नियम र प्रतिबद्धता विपरित भएको उल्लेख गरे । उनले भने,“ कृषिज्रन्य पदार्थमा आधारित उत्पादनलाई त प्रर्वद्धन गर्नुपर्ने फेरि एकाएक सरी यो विषय आयो, यसले नेपालको स्वदेशी उद्योगलाई फाइदा गर्दैन ।”