अर्थमन्त्री विष्णु पौडेल बन्ने भएसँगै नेप्सेमा उछाल


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेसँगै सेयरबजार उछाल आएको छ ।

नेकपा एमालेसहित ७ दलको समर्थन पाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज ४ बजे प्रधानमन्त्रीको सपथ ग्रहण गर्दैछन् ।

त्यस्तै अर्थमन्त्री नेकपा एमालेका विष्णु पौडेल बन्ने कुराले सेयरबजारमा रौनकता छाएको हो ।

बुलिस मन्त्रीको उपनाम पाएका पौडेल अर्थमन्त्री बनेसँगै सेयरबजारले हरियो झण्डा देखाएर स्वागत गरेको लगानीकर्ताहरु बताउँछन् ।

दुई पटक अर्थमन्त्रालय सम्हालेका उनको कार्यकालमा मार्केट बुलमा गएको थियो। अहिले पनि बजारमा सुखद सुरूवात देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक ५६.८८ अंकले बढेर १९२४.०९ अंकमा पुगेको छ । नेप्से ३.०५ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.३८ अंकले बढेर ३७५.४५ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहको सेयर बढेको छ भने अन्य उपसमूहको सेयर घटेको हो ।

सोमबार कारोबार रकमको आधारमा नेपाल टेलिकमको अग्रस्थानमा रहेको छ । नेपाल टेलिकमको २० करोड ८८ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज आधा दर्जन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । गोर्खाज फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त लगायतको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन नेपाल टेलिकमका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। टेलिकमको सेयरमूल्य ५.५६ प्रतिशतले घटेर ९ सय रूपैयाँमा झरेको छ ।

कूल २५० वटा कम्पनीको ५६ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९ करोड ७० लाख ४९ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।