अर्थमन्त्रीले वार्ताको लागि बोलाएपछि मोरङका उद्योगी व्यवसायीको आन्दोलन स्थगित


विराटनगर । ‘चर्को ब्याजदर र प्रतिकुल बैकिङ नीति’ विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीले सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्ताको लागि बोलाएको भन्दै आन्दोलनमा उत्रिएका व्यवसायीहरुले आजदेखि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

अर्थमन्त्री पौडेलले पदभार ग्रहणपछि सोमबार नै आन्दोलनरत उद्योगी व्यवसायीहरुलाई वार्ताको लागि बोलाएको मोरङ व्यापार संघ का अध्यक्ष नविन रिजालले बताए ।

बैंकको चर्को ब्याजदरका विरुद्ध मोरङका उद्योगी र व्यावसायीले पुस ७ गतेयता नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको गेट अगाडि धर्ना दिइरहेका थिए । उद्योगीले एकल अंकको ब्याजदर कायम गर्नुपर्ने, स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्नेलगायत माग राखेका छन् ।

रिजालका अनुसार सरकारसँग बार्ताका लागि सात सदस्यी उद्योगी व्यवसायीको टोली आज काठमाडौं जाने तयारीमा छन् ।

मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, विराटनगरव्यापार संघ लगायतका प्रतिनिधिमुलक संस्थाबाट बार्ताको लागि जाने तयारी भईरहेको भएपनि सरकारसंगको बार्ताको मिति भने तय भईनसकेको रिजालले जानकारी दिए।

यदि सरकारले माग सम्बोधन नगरेमा पुनः सडक आन्दोलनमा फर्किने रिजालको भनाई छ ।