नेपालमा मर्क्यूरको पहिलो होटल सञ्चालनमा आउँदै


काठमाडौ । होटल व्यवस्थापनको लागि विश्वकै चर्चित समुह एकोर ग्रुपको व्यवस्थापनमा नेपालमा पहिलो होटल सञ्चालन हुने भएको छ । एसिया, युरोप, अफ्रिका एवम् मध्यपूर्वका १०० बढी देशका ५ हजार ३ सय बढी होटलहरुको व्यवस्थापन हेरिरहेको उक्त समुहले काठमाडौमा निर्माणाधिन द मेट्रोपोलिटन होटलको व्यवस्थापन हेर्ने भएको हो ।

एकोरले मक्र्यूअर होटेलको नामबाट १०५ कोठाको उक्त १० तले पाँच तारे होटल सञ्चालनमा ल्याउनेछ । होटलमा जिम, स्वीमिङपुल लगायत पाँच तारे होटलमा आवश्यक सबै सुविधा उपलब्ध हुनेछन् । होटल सञ्चालनमा ल्याउनका लागि एकोर र मेट्रोपोलिटन होटलबिच भएको सम्झौतामा दुवै कम्पनिका निर्देशकहरुले यो सहकार्य र व्यवशाय विस्तारलाई नेपालको पर्यटनको विकासमा सकारात्मक फड्को भनेका छन् ।

एकोर कम्पनिले नेपालमा आउने विदेशी पाहुनाहरुलाई विश्वस्तरीय सेवाको साथमा नेपाली परम्पराअनुसारको आतिथ्यता दिएर स्वागत गर्ने जनाएको छ । एकोरका तर्फबाट अनिरुद्ध कुमार र पुनित धवनले विश्वभरमा रहेका आफ्ना ग्राहकहरुको लागि नेपालमा पनि उपस्थिती जनाउन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, व्यापार केन्द्रहरू, कर्पोरेट भवनका साथै फिटनेस केन्द्रहरूको नजिक छ । जसले गर्दा धेरैभन्दा धेरै मानिसहरुलाई रेस्टुरेन्टको साथै सेमिनार, बैठक र सम्मेलनहरूको सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ ।

मेट्रोपोलिटन होटल प्रालिका अध्यक्ष देशबन्धु बस्नेतले एकोरसँगको सहकार्यले आपसी समझदारी र सहकार्यको दीर्घकालिन सम्बन्धको सुरुवात गरेको बताए । उनले विश्वस्तरको ब्राण्डलाई नेपालमा ल्याउन पाउनु गौरवको कुरा भएको बताउँदै नेपालमा आउने आगन्तुकहरुले विश्वस्तरीय हस्पिटालिटी सेवा लिन पाउने अवसर सृजना भएकोमा खुसी व्यक्त गरे । उनले यो सम्झौता र सहकार्यले दुवै कम्पनिहरुलाई नयाँ उचाइ दिने विश्वाससमेत व्यक्त गरे ।

बस्नेत नेपालको एबी होल्डिङ्सका अध्यक्षसमेत हुन् । यो कम्पनिले नेपालका विभिन्न भागमा होटल, रिसोर्टलगायत इन्जिनियरिङ र स्वास्थ्यका क्षेत्रमा धेरै प्रोजेक्टहरुमा लगानी गरिरहेको छ ।