गृहमन्त्रालयको स्वीकृति विना राजदुत र दलका नेतालाई नभेट्न सुरक्षा अधिकारीहरुलाई निर्देशन


काठमाडौं । गृहमन्त्रालले सुरक्षा अधिकारीहरुलाई पूर्वअनुमति लिएर मात्र दलका नेता र कुटनितिक नियोगका अधिकारीहरुलाई भेट्न निर्देशन दिएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विभागीय स्वीकृति लिएरमात्रै कूटनीतिक नियोग र राजनीतिक नेतृत्वहरुसँग भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको हो।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार विभागीय स्वीकृति बिना नेता र कुटनीतिक नियोगहरुमा भेटघाट गर्ने सुरक्षा पदाधिकारीलाई कारबाही हुने छ ।

‘शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरु कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग र राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सुरक्षाकर्मी पदाधिकारीहरुले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नेपर्ने भएमा स्पष्ट प्रयोजन र विभागीय स्वीकृति लिएरमात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन अनुरोध छ।’

विज्ञप्तिमा यो निर्देशनविपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने पनि स्पष्ट पारिएको छ।