सरकार गठनसँगै सेयर बजारमा निरन्तर उछाल, यस्ताे छ साताकाे अन्तिम दिनकाे काराेबार


काठमाडौं । साताको कारोबारको अन्तिम दिन पनि सेयरबजार उछाल आएको छ । बिहीबार नेप्से परिसूचक ५६ अंकले बढेर २००० अंक माथि जाँदा झण्डै ३ अर्बको कारोबार भएको छ ।

पछिल्लो ४ दिनमा नेप्से परिसूचक १७३.६२ अंकले बढेको छ भने एक दिन लगानीकर्ताले नाफा बुक गर्दा ११ अंकको करेक्सन आएको छ ।

सरकार परिर्वतन भएसँगै अर्थमन्त्रीको जिम्मेवारी नेकपा एमालेका नेता विष्णु पौडेलले सम्हाल्ने भएपछि सेयरबजार तरंगित बनेको छ । पूर्व अर्थमन्त्री जर्नादन शर्मा र गर्भनर महाप्रसाद अधिकारीबीच तालमेल नमिल्दा निराश बनेका लगानीकर्ता अर्थमन्त्रीमा पौडेलको इन्ट्रीसँगै उत्साहित बनेको सेयरबजारका विज्ञहरु बताउँछन् ।

अर्थमन्त्री पौडेल सेयरबजारको लागि भाग्यशाली ठानिए पनि अघिल्ला कार्यकालमा सेयरबजारको लागि महत्वपूर्ण नीतिगत सुधारहरु नभएको सेयर विष्लेशक विष्णु बस्याल बताउँछन् ।

उहाँको सबैभन्दा राम्रो पक्ष सबै वर्गहरुसँग समन्वय गरेर जाने हो । बस्याल भन्छन् अब अहिले पनि उहाँले समन्वय गरेर नै सेयरबजारका समस्याहरु समाधान गर्नुहुन्छ भन्ने आशा बजारले गरेको छ ।

बस्यालका अनुसार सेयरबजारमा देखिएको ४ दिनको वृद्धिले अब बजार ठ्याक्कै बढ्छ, यतिमा पुग्छ भन्न सकिदैन तर अझै एक दुई दिन यस्तै गतिमा रहे भने बजार निश्चयनै पछि फर्किदैन ।

सरकार र अर्थमन्त्रीप्रति लगानीकर्ताको विश्वास बढेका कारण बजार बढेको नेपाल इन्भेष्र्टस फोरमकी उपाध्यक्ष दुर्गा तिवारी बताउँछिन् ।

सेयरबजारलाई प्रत्यक्ष प्रभाव पार्ने मुख्यकुरा भनेको तरलता हो तिवारी भन्छिन् विस्तारै तरलता सहज हुँदैछ,व्याजदर पनि माघदेखि घट्ने कुरा छ त्यसको प्रभाव पनि बजारमा परेको हो।

‘केही नीतिगत व्यवस्थामा परिवर्तन भएका छन्, जस्तै स्थानीय तहको रकम बैंकहरुले गणना गर्न पाउने समयावधि थप हुनुले पनि बजार बढ्नमा टेवा पुगेको छ’, तिवारीले भनिन्, ‘आजमात्रै राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको रिपो जारी गरेको छ।’ सेयरबजारमैत्री मानिएका अर्थमन्त्री पौडेललाई भेटेर बजारको समस्याका बारेमा जानकारी गराएको उनले बताइन् ।

तिवारीका अनुसार हामीले अर्थमन्त्रीबाट धेरै अपेक्षा गरेका छौ,हामीले सँधै उठाएका मागहरु ब्रोकर लाइसेन्स थप्ने, नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिने, रिक्स वेटेज १५० लाई घटाएर १०० मा झार्ने,कारोबारमा तिर्ने विभिन्न शुल्कहरु घटाउनुपर्ने विषयहरुमा अर्थमन्त्रीसँग कुराकानी भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९.०३ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ९.९८ अंकले बढेर ३९१.३१ अंकमा पुगेको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ ।

बिहीबार कारोबार रकमका आधारमा हिमालयन डिष्टीलरीको अग्रस्थानमा रहेको छ । कम्पनीको १२ करोड १४ लाख ७१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा हिमालयन उर्जा, सानिमा लाइफ, सृजनशिल लघुवित्त,धौलागिरी लघुवित्त, अजोड इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् यी सबै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

यस दिन नेपाल बैंक डिबेञ्चर २०८७ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ३.९५ प्रतिशतले घटेको छ ।

कूल २५७ वटा कम्पनीको ८० लाख २४ हजार ५ सय ५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोड ३ लाख ४५ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।