उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्न सकारात्मक प्रयास गर्छु : अर्थमन्त्री पाैडेल


काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्न सकारात्मक प्रयास गर्ने बताएका छन् ।

बिहीवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, नेपाल उद्योग व्यापार महासंघ र नेपाल इन्भेष्टमेण्ट फोरमका पदाधिकारीसँगको छलफलमा अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्ने सकारात्मक प्रयास गर्ने बताएका हुन् ।

उनले चेम्बरले मुलुकको आर्थिक समुन्नतीको लागि सरकारसँग सहकार्य गर्ने विषय सकारात्मक भएको बताए । मन्त्री पौडेलले मुलुकको आर्थिक उन्नती अहिले सबैको सरोकारको विषय भएको उल्लेख गरे ।

उनले चेम्बरले उठाएका मागहरुलाई छलफल गरेर सकारात्मक समाधान गर्ने प्रयास गर्ने प्रतिवद्धता जनाए । त्यस्तै, अर्थमन्त्री पौडेलले नेपाल उद्योग व्यापार महासंघ सँगको छलफलमा अर्थतन्त्र अफ्ठ्यारोमा रहेको भन्दै अफ्ठ्यारोका बीचबाट समाधान खोज्नुपर्ने अवस्था रहेको बताए ।

उनले व्यवसायीहरुको माग तत्काल सम्बोधन गर्ने विषयमा पहल गर्ने बताए । त्यस्तै अर्थमन्त्री पौडेलले शेयर बजार सुधारको लागि आवश्यक पहल गर्नेपनि बताए ।

नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले मन्त्री पौडेललाई बैंकको उच्च ब्याजदर र चालुपँजी कर्जाको कारण अर्थतन्त्र संकुचनमा परेको बताए । उनले बैंकको ब्याजदरलाई व्यवस्थित गर्न र चालुपुँजी कर्जालाई तत्कालको लागि स्थगित गर्न माग गरे ।

अध्यक्ष मल्लले मन्त्री पौडेललाई बैंकको ब्याजदर सिङ्गल डिजिटमा ल्याउन आग्रह गरे । उनले भन्सारमा वस्तु आयात गर्दा लिने सन्दर्भ मूल्यका कारण भन्सार एकीकृत नभएको भन्दै सन्र्दभ मूल्यलाई कारोबार मूल्यको मान्यता दिन आग्रह गरे ।

उनले बैंकहरुले कर्जामा लिने प्रिमियमदर बढीमा २ प्रतिशत कायम गर्नुपर्ने बताए । सरकारले चालुपुँजी कर्जा मार्ग दर्शन लागू गरे अधिकांश उद्योग बन्द हुने दाबी गरे ।

त्यस्तै अर्थमन्त्रीसँगको भेटमा शेयर लगानीकर्ता संघका पूर्वअध्यक्ष छोटेलाल रौनियारले शेयर लगानीकर्ताहरुले महिनामा १ करोड २० अर्ब रुपैयाँ कर तिर्ने गरेको तर अहिले शेयर बजारमा गिरावट आउँदा लगानीकर्ताको धेरै आम्दानी घटेको बताए । उनले क्यापिटल गेनमा लाग्ने ७ प्रतिशत कर ५ प्रतिशतमा ल्याउँदा पुँजी बजारलाई सञ्जिवनीको काम गर्ने बताए ।

अर्थमन्त्री पौडेलसँग नेपाल उद्योग व्यापार महासंघले सरकारको पहिलो मन्त्री परिषद्ले गरेको निर्णय कार्यान्वयन गर्न माग गरेको छ । त्यस्तै शेयर लगानीकर्ता संघले पनि विभिन्न माग राख्दै अर्थमन्त्रीसँग भेट गरेको छ । त्यस्तै, बिहीवार नै लघुवित्त वित्तिय संघले पनि विभिन्न आफ्ना माग राख्दै अर्थमन्त्री पौडेलसँग भेट गरेका छन् ।