निजी डेरीले दुधकाे मूल्य बढाए,उपभाेक्ता मूल्य प्रतिपाेका रू ५०


काठमाडौँ । दुध उत्पादन बढी हुने सिजनमा समेत दुधको अभाव देखिएपछि डेरी उद्योगीले काँचो(झोल) दुधको मूल्य बढाएका छन् । दुधकाे अभाव टार्न उद्याेगीले आपसी सहमतिमा किसानलाइ लाभ हुने गरी दुधको मूल्य बढाएको बताएका छन्।

निजी डेरीबाट उत्पादित ४ फ्याट र ८ एसएमएफको दूधकाे अधिकतम खुद्रा मूल्य सनिवारदेखि प्रतिपाेका ५० रूपैयाँ पुगेको छ भने किसानले प्रतिलिटर ७२ (संकलन खर्चसमेत) पाउनेछन् । उद्याेगीका अनुसार बुधम्यानहरूले प्रतिलिटर ५ रूपैयाँ कमिसन पाउनेछन् ।

यसअघि अघाेषित रूपमा किसानसँग न्युनतम समर्थन मूल्य भन्दा बढीमा दुध खरिद गरिरहेकाेमा डेरी उद्याेगीहरू घाेषित रूपमै खरिद तथा विक्री मूल्य बढाएका हुन् । मूल्य बढाउनेमा ठुला डेरीहरूकाे संस्था डेरी उद्याेग संघ आवद्ध उद्याेग छन् भने केही नेपाल डेरी एसाेसिएसन आवद्ध छन् ।

सरकारले २०७८ माघ १७ गते दुधको न्युनतम् समर्थन मूल्य निर्धारण गरेपश्चात पनि दुग्ध उत्पादनमा प्रयोग हुने दाना, चोकर र पशु नश्लको पटकपटक मूल्यवृद्धि हुदाँ किसानले गतवर्ष ताकिएको फ्याट र एसएनएफका आधारमा समर्थन मूल्यमा बिक्री गर्दै आइरहेका थिए ।

नेपाल डेरी प्रा. लि. ले शुक्रवार परिमार्जित दररेट सार्वजनिक गर्दै पुस १६ गतेदेखि नयाँ मूल्य लागू हुने जनाएको छ । डेरीले फरक फरक जिल्लामा फरक न्युनतम खरिद मूल्य तोकेको छ । जसमा चितवान, मकवानपुर, नवलपुर, सिन्धुली, रामेछाप, धादिङ्ग, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौँ, सिन्धुपाल्चोकका किसानले न्युनतम ६८ रुपैयाँ प्रतिलिटर पाउने छन् ।

बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरीमा, नवलपरासी, रुपन्देही र कपिलवस्तुका किसानलाई ६६ रुपैयाँ प्रतिलिटर ताकिएको छ ।

त्यस्तै झापा, मोरङ र सुनसरीका लागि न्युन्तम ६४ रुपैयाँ तोकिएको छ भने धनकुटा, इलाम, दाङ, बाके, बर्दिया, र सुर्खेतमा न्युनतम ६१ रुपैयाँ छ तोकिएको छ। किसानलाई तोकिएको न्युनतम मूल्यमा उद्योगीले ३ रुपैँया ९६ पैसा संकलन तथा दुवानी खर्च जोडेर उपभोक्तालाई बिक्री गर्ने छन् ।

सरकारले गतवर्ष माघ १७ गतेदेखि देशभर लागू हुने गरी दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर ५६ रूपैँया ४ पैँसा समर्थन मुल्य तोकेको थियो । सरकारले न्युनतम समर्थन मूल्य ताेकेपछि घाेषित रूपमै सरकारले ताेकेभन्दा बढी मूल्य निर्धारण गरेका डेरी उद्याेगका दुबै संस्थाले यस विषयमा आधिकारिक धारणा भने ल्याएका छैनन् ।

के भन्छन् उद्योगी ?

सरकारले गतवर्ष तोकेको न्युनतम समर्थन मूल्यमा थप ५ रुपैँयादेखि १२ रुपैँयासम्म बढि मूल्य तिरेर दुध खरिद गर्न डेरी उद्योग संघमा आबद्ध सबै डेरी सहमत भएको अध्यक्ष राजकुमार दाहालले बताए । “बजारमा दुध छैन, चल्तिको दररेटमा ८-१० रुपैँया बढि तिर्दा पनि दुध पाइदैन,” अध्यक्ष दाहालले भने, “कालोबजारी मौलाउन दिनुभन्दा उद्योगी साथीहरुले किसानलाई लाभ हुनेगरी दुधको मुल्य परिमार्जन गरेकोमा डेरी उद्योग संघको सहमती छ ।”

फल सिजनमा समेत दुधको अभाव भएपछि दुग्ध क्षेत्रका किसानको पलायन रोक्न बाध्य भएर दुधको मुल्य बढाउनुपरेको संयुक्त डेरी प्रवन्ध सञ्चालक कुलप्रसार घिमिरेले बताउछन् । बढ्ने मुल्यअनुसार किसानले स्थान अनुसार अहिले बजारमा चलेको मूल्यभन्दा प्रतिलिटर पाँच देखि १२ रुपैँयामा सम्म बढि पाउने छन् ।

“कर्मचारीको तलबदेखि इन्धनको मुल्यसमेत निरन्तर बढेकाले उद्योग नै बन्द गर्नुपर्ने अवस्था आयो,” घिमिरेले भने, “दाना, चोकरको महंगीले किसान पलायनको बाटोमा छन् उनीहरुलाई रोक्न सरकारी तहबाटै थप पहल हुनुपर्छ ।”