चेपे ए जलविद्युत आयोजनामा अवरोध,वार्तामार्फत समस्या समाधान गर्न कम्पनीको आग्रह


काठमाडौं । चम्पावती हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको चेपे ए जलविद्युत आयोजनामा अवरोध आएको छ ।

२ वर्षदेखि निर्माण कार्य शुरु गरेको आयोजनामा स्थानीयवासीले अवरोध गरेका हुन् ।

स्थानीय उपभोक्ताले राइनस नहरमा पानी नआउने आशंका व्यक्त गर्दै आयोजनामा अवरोध गरेको कम्पनीले जनाएको छ ।

निर्माण कार्य भइरहेको बेला लमजुङ्को राइनास सिंचाई योजना जल उपभोक्ता समिति र राइनास नगरपालिकाले कम्पनीसँग नहरको मुहानमा पानी जाने नजाने बिषयमा पत्र मार्फत् जानकारी गराउन माग गरेको थियो ।

कम्पनीले जवाफमा नहरको मुहानभन्दा माथि नै विद्युत गृहबाट निस्कने पानी जाने कुरा जानकारी गराएको थियो ।

विद्युत विकास विभागले समेत विवरण पेश गर्न भनेपछि कम्पनीले गत मंसिर २१ गते विवरण पेश गर्दै‘ विद्युत गृहबाट निस्कने पानी नहरको मुहानमा जान प्राविधिक रुपमा समस्या नभएको’ भन्दै पत्र दिएको थियो ।

कम्पनीले कुनै समस्या नहुँने भन्दा भन्दै अवरोध भइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वीकृत वातावरणीय प्रतिवेदनमा पावर हाउस क्षेत्र भनेर तोकिएको स्थान (टोपोम्यापमा उल्लेख गरिएको क्षेत्रमा) नै पावरहाउस अन्तर्गतका संरचना निर्माण भइरहेको भन्दै कम्पनीले प्रष्टिकरण दिइरहेको छ ।

विरोध गर्ने पक्षले नहरको इन्टेकभन्दा २०० मिटर तल पानी खसाल्न लागेको आरोप लगाएको छ । तर कम्पनीले भने त्यसको खण्डन गरेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनेको छ,“आयोजनाको विद्युत गृहबाट निस्कने पानी नहरको इन्टेकभन्दा माथि चिल्ली खोला र चेपे खोलाको दोभानभन्दा माथि फाल्ने भनेर वातावरणीय प्रतिवेदनमा उल्लेख भए अनुसार नै अहिलेको डिजाइनमा विद्युत गृहको टेलरेसबाट पानी जान्छ । जुन नहरको इन्टेकभन्दा १६० मिटर माथि रहेको छ ।”

विद्युत गृहको टेलरेसबाट पानी निस्कने लेभल र नहरको मुहान(इन्टेक)को लेभल करिव २ मिटरको फरकमा रहेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

आयोजना रन अफ दि रिभर प्रकारको र बाँध खुल्ला बहाव अर्थात ‘फ्रि फ्लो वियर’को रुपमा निर्माण हुन लागेको हो ।

यस आयोजनाको हेर्डवक्र्सका संरचना कुयँलेमा र विद्युतगृह गोरखा जिल्लाको सिरानचोक गाउँपालिका २ कुविन्डे बगरमा निर्माण हुँदैछ ।

चेपे ए जलविद्युत आयोजनाको भौतिक प्रगति करिव ६५ प्रतिशत छ भने झण्डै ९० करोड बराबरको लगानी भइसकेको कम्पनीले जनाएको छ ।

आयोजनाले विद्युत उत्पादन मिति २०८० साउन ३ गतेभित्र निर्माण कार्य सकेर परीक्षण समेत गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत जडानको लक्ष्य राखेको छ ।

कम्पनीले मंसिर २४ गते राइनास सिंचाई योजना जल उपभोक्ता समिति र राइनास नगरपालिकाका जनप्रतिनिधि समेतको संलग्नतामा आयोजनाको विद्युत गृह निर्माण स्थल र साइट अफिसमा एक्कासी सयौं मानिसहरु लिएर गएर तोडफोड र आगजनी गरिएको बताएको छ ।

कम्पनीका अनुसार जलविद्युत आयोजनाको पानीको निस्कने लेभल ६३६.१२ मिटरमा छ । नहरको इन्टेकमा पानीको लेभल ६३३.४ छ । पानी भनेको माथिल्लो लेभलबाट तल बग्ने हो ।

केही व्यक्तिहरुले आयोजनाको जगमा बनिरहेका (पूर्ण रुपमा निर्माण भइनसकेका संरचना) र भौगलिक अवस्थितिलाई आधार बनाएर मिथ्या सूचना दिएको कम्पनीले आरोप लगाएको छ ।

तोडफोड र आगजनीको अगुवाई गर्ने व्यक्तिहरूलाई आयोजनाले विद्युत गृहबाट निस्कने पानी नहरको मुहानभन्दा माथि चिल्ली खोला र चेपेखोलाको दोभानभन्दा माथि फाल्ने कुरा पटक पटक जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,“ त्यति हुँदा पनि घटना घटाइनु र संवादका माध्यमबाट समस्या समाधानका लागि पहल गर्दा सहमतिमा नआउनु दुःखद पक्ष हो ।”

अवरोधले ठेकेदार कम्पनी र आयोजनाको गरी करिब ३ करोड ४० लाख जतिको प्रत्यक्ष भौतिक र अप्रत्यक्ष रुपमा लागत बढ्न जाने र उत्पादनमा हुने ढिलाईका कारण आम्दानीमा पर्ने प्रभावले गर्दा झण्डै थप ३० करोड क्षति हुने अनुमान कम्पनीको छ ।

आयोजना निर्माण सम्पन्न गर्नका लागि थप लगानी गर्नुपर्ने स्थिति सिर्जना भएको भन्दै कम्पनीले आगजनी र तोडफोडमा संलग्नहरुमाथि कार्वाही र आगजनीबाट भएको क्षतिपूर्तिको लागि माग गरेको छ ।

राइनास नहरको मुहानभन्दा माथि चेपे ए जलविद्युत आयोजनाको विद्युत गृहबाट निस्कने पानी खसाल्ने कुराको प्रतिबद्धता आयोजना प्रबद्र्धक कम्पनीले पटक पटक गरिसकेको भन्दै पुनः लिखित रुपमा नै सरोकारवाला निकायको रोहबरमा उक्त प्रतिबद्धता कम्पनीले गरेको छ ।

गोरखाको सिरान्चोक गाउँपालिका र लमजुङको दुधपोखरी गाउँपालिका सीमानामा बाँध तथा आयोजनाका सम्पूर्ण संरचनाहरू सिरान्चोक गाउँपालिकाको वार्ड नम्बर १ र २ मा ७ मेगावाटको चेपे ए जलविद्युत आयोजना रहेको छ ।