चालु पूँजी कर्जा मार्गदर्शन स्थगन वा खारेज गर्न मोरङ्ग व्यापार संघको माग


काठमाडौं । मोरङ्ग व्यापार संघले चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधनमा समयावधि थप गरेको प्रति सकारात्मक रहेको जनाएको छ । संघले  समयावधि थप गरेको प्रति सकारात्मक रहे पनिअन्य धेरै बुँदाहरु बाँझिने अवस्था रहेकाले यसको संशोधन गर्नुको सट्टा तत्कालका लागि स्थगन वा खारेज गर्नुपर्ने माग गरेको छ ।

बुँदा नं. ८.६ मा गरिएको ७ दिनको शुन्य बक्यौता सम्बन्धी व्यवस्थाले व्यवसायिक चक्रलाई शिथिलता दिने देखिएको तथा यस प्रकारको व्यवस्था विश्व मै कतै नभएकाले नेपालमा यो लागू हुनु अव्यवहारिक देखेको मोरङ्ग व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।

अध्यक्ष रिजालले कच्चा पदार्थमा अत्याधिक आत्मनिर्भर र ठूलो बजारको आकार बोकेको भारतमा लागू रहेको प्रक्षेपित कारोवार रकमको २०(२५ प्रतिशत रकम ऋण लिन पाउने व्यवस्था सरह नेपाल जस्तो कच्चा पदार्थमा परनिर्भर तथा सानो बजार भएको मुलुकमा लागू गरी कार्यान्वयनमा ल्याउन असम्भव रहेकोले संशोधन नगरी खारेज वा स्थगन गर्नुपर्ने बताए ।

संघले अहिलेको चर्को ब्याजदर र प्रतिकूल बैंकिङ नीतिहरुले श्रृजित समस्याहरु निराकरणका लागि प्रधानमन्त्री, अर्थ मन्त्री, गर्भनर लगायतलाई ज्ञापन पत्र मार्फत एकल अंकको बैंक ब्याजदर कायम गरिनु पर्ने, स्प्रेड दर अधिकतम् २ प्रतिशत कायम गरिनु पर्ने, संस्थागत व्याजदर न्यून हुनु पर्ने, बैंक संचालक र उद्योग र व्यवसाय संचालक अलग गरिनु पर्ने लगायतका नीतिगत सुधार सम्बन्धी मागहरुको संबोधनका लागि पुनः आग्रह गरेको छ।

नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शनको बुधबार संशोधन गरेको छ । प्रधानमन्त्री र अर्थमन्त्रीको निर्देशनपछि राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्ग दर्शन संशोधन गरेको हो ।