नेपाल घरेलु तथा साना उद्योग महासंघले मेला गर्ने


काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले २०७९ फागुन २ देखि ६ गतेसम्म अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र प्राङगारिक कृषि मेला गर्ने भएको छ । महासंघले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौ प्राङगारिक कृषि मेला २०७९ नामबाट भृकुटीमण्डपमा आयोजना हुने जनाएको छ ।

यस प्रदर्शनीको मुख्य नारा “नेपाली वस्तु प्रयोग गरौ, नेपाली भएकोमा गर्व गरौं र “मिहनेत, श्रृजना, उत्पादन र वस्तु मेरै नेपालको“ भन्ने रहेको छ । देशभरका झण्डै ६ लाख भन्दा बढी लघु घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरु लाई यसले प्रतिविम्बित गर्ने जनाइएको छ ।

यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बिटुबी, बिटुसी र बिटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बताए ।

अर्गानिक उत्पादनहरुका बारेमा आम नागरिकलाई सचेतना गराउने र सहज रुपमा अर्गानिक उत्पादनहरु उपलब्ध गराउन अर्गानिक एसोसियसनसँगको सहकार्यमा कृषिका अर्गानिक उत्पादनहरुको छुट्टै प्याभिलियन मार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको छ ।

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने उल्लेख गरिएको छ । प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र २ लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा रु. ७ करोड भन्दा बढीको आर्थिक कारोवार हुने प्रक्षेपण गरिएको छ ।

हरेक वर्ष हुँदै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण ३ बर्षदेखि स्थगित भएको थियो ।