‘अर्थतन्त्र बलियो बनाउनको लागि स्वदेशी उत्पादनमा जोड दिन आवश्यक छ’


काठमाडौँ । भृकुटीमण्डपमा आयोजना भएको १६ औं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी मेलाले नेपालमा उत्पादन भएका वस्तुहरु अन्तराष्ट्रिय बजारमा निर्यात गर्न सहज हुने राष्ट्रपति विद्यादेवि भण्डारीले बताइन् ।

बिहिबार देखि शनिबारसम्म आयोजना हुने १६ औं औद्योगिक प्रदर्शनी मेलाको उद्धघाटन समारोहमा बोल्दै भण्डारीले स्वदेशमै उत्पादन भएका जुत्ता चप्पलले नेपालको मागलाई धानेको र अन्तराष्ट्रिय स्तरमा पनि नेपाली उत्पादनको माग रहेको बताएकी हुन् ।

उनले भनिन्, “नेपाली उत्पादनको विदेशमा राम्रो माग रहेको छ । त्यसकारण हामीले जुत्ता चप्पल उत्पादनमा जोड दिएर यसलाई निर्यात गर्न तर्फ पनि हामीले योजनाहरु बनाएका छौँ ।’’ उनले घरेलु उत्पादनको रूपमा रहेका नेपाली फुटवेयर उत्पादनहरुले स्वदेशी जुत्ताचप्पल बजारमा ठूलो स्थान ओगट्न सफल भएको र यसले आधा लाख बढी मानिसलाई रोजगारी प्रदान गरेको बताइन् ।

भण्डारीले नेपाली उत्पादनलाई गुणस्तरसहित ब्राण्डिङ गर्नसके नेपाली फुटवेयर उत्पादनका लागि बजार उपलब्ध हुनसक्ने बताएकी छन् । उनले बजार बिस्तारमा प्राप्त हुने अवसरहरूको खोजी गर्दै अवसरको सदुपयोग गर्न उद्यमीहरूलाई आग्रह समेत गरेकी छन् । उनले निजी क्षेत्र र सरकारले आपसमा समझदारी विकास गरी मुलुकको अर्थ व्यवस्थालाई बलियो बनाउनका लागि सहकार्य गर्नु अत्यावश्यक भएको बताइन् ।

त्यस्तै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अध्यक्ष श्रीरानी राज घिमिरेले प्रदर्शनीले पछिल्लो समय बजारमा आयात हुने जुत्ता चप्पललाई निरुत्साहित गराएर स्वदेशी उत्पादन प्रोत्साहन गर्नेु बताए । घिमिरेले पछिल्लो समय खुल्ला सिमा भएका कारण अवैद्य तरिकाले आयात हुने जुत्ता चप्पलले गर्दा पनि नेपालको उत्पादनले राम्रो बजार नपाएको र यस्तो कार्यलाई रोक्न समेत अनुरोध गरेका थिए । उनले भने, “अवैद्य तरिकारले आयात भएको वस्तुले गर्दा हामीले बजार नपाउने समस्या सिर्जना भएको छ । राष्ट्रपति ज्यूसँग अनुरोध छ, यस्तो कार्यलाई रोक्नको लागि पहल गर्नुहोला ।’’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले जुत्ता चप्पल उद्योगलाई प्रोत्साहन गर्दा लाखौँ मानिसहरुले रोजगार पाउने बताए । गोल्छाले देशको अर्थतन्त्र अवस्था निकै कमजोर रहेको र सुधारको लागि राज्यले यस्ता उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले भने, “भर्खर नयाँ सरकार आएको छ देशको अर्थतन्त्र डामाडोल अवस्थामा रहेको छ । त्यसको लागि नयाँ सरकारले उद्योगीहरुलाई प्रोत्साहन गर्ने खालको निति ल्याउन पर्ने आवश्यक रहेको छ ।’’

प्रदर्शनीमा ४० हजार देखि ५० हजार उद्योगी, डिलर, होलसेलर र खुद्रा व्यापारीहरु सहभागि हुने छन् भने प्रदर्शनीमा विदेशी कच्चा पदार्थ, मेशनरी र प्रविधि सहितको ४० भन्दा बढी कम्पनीका स्टल रहने र नेपाली फुटवेयरका ९० कम्पनीहरु सहभागी हुने मेलाका संयोजक सुरज बन्जाडेले बताएका छन् ।

नेपालमा ठूला तथा साना उद्योगीहरुको वार्षिक उत्पादन क्षमता १६ करोड जोर भन्दा माथि रहेको छ भने उद्यमीहरुले यस क्षेत्रमा ३० अर्ब भन्दा माथि लगानी र ४ अर्ब भन्दा माथि बैंक कर्जा रहेको छ ।